अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङद्वारा संसद् अधिवेशन अन्त्य

पोखरा । आफूविरुद्ध अविश्वास प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेदश सभा अधिवेशन अन्त्य गरेका छन् ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चालगायत दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । अविश्वास प्रस्ताव आउने र पारित पनि हुने लगभग निश्चित भएपछि मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनलाई संसद् अधिवेशन नै अन्त्य गर्ने सिफारिस गरेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले गण्डकीमा कांग्रेसलाई र लुम्बिनीमा माओवादीलाई मुख्यमन्त्री बनाउने गरि सत्ता साझेदारी गर्ने सहमति गरेपछि यी दुवै प्रदेशमा एमाले नेतृत्वको अहिलेको सरकार अल्पमतमा परेको छ । उनीहरुलाई जसपा र राजमोले पनि साथ दिने भएका छन् ।

अविश्वास प्रस्तावबारे सचिवालयमा जानकारी दर्ता गराउने
यसैबिच, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलले आज प्रदेश सभाका सभामुख समक्ष मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेबारेको जानकारी गराउने भएका छन् ।

प्रतिक्रिया