नयाँ बानेश्वरमा राष्ट्रिय खाद्य बैंकको केन्द्रीय कार्यालय सञ्चालनमा

काठमाडौं । पोसिलो आहारका लागि दिगो कृषि भन्ने मूल नाराका साथ केही महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको पूजापाठ गरी शुभारम्भ गरिएको छ ।

बिहीबार बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रीय कार्यालयको विधिवत् (पूजापाठ सहित) शुभारम्भ गरिएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

२ अर्ब लगानीमा देशव्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको यस बैंक नेपालमै नविनतम सोचसहित अघि बढेको बैंक भएको उप्रेतीले बताए ।

यस बैंकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अर्गानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उद्देश्य लिएको छ ।

हालसम्म यस बैंकमा ५९० जना प्रमोर्टर शेयर सदस्य रहेका छन् । बैंकले त्यसलाई बढाएर १ हजार जना प्रमोटर शेयर सदस्य बनाउने उद्घोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही वर्षभित्रै आइपिओमा जानेसमेत बैंकको योजना रहेको छ ।

शेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा बैंकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकाले त्यसरी अघि बढ्न खोजिएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

यस बैकले पहिलो चरणमा २३ ओटा जिल्लामा यस वर्षभित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ ।

बैंकले त्यसका लागि तराइका विभिन्न जिल्लाहरुमा करिब ६ सय बिघा जमिन लिजमा लिसकेको छ । यसै वर्षभित्र बैंकले उत्पादन गरेका अर्गानिक उन्मुख अनाजहरु शेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतीले बताएका छन् ।

प्रतिक्रिया