वर्ष २०७८ : कोरोनालाई भुलाउँदै खेलकुदमय बन्ने आश

काठमाडौं । वर्ष २०७७ हरेक मान्छेको लागि इतिहासकै कठीन साल बन्यो । धर्तीमा रहेका स्वत्रन्त मान्छे कैदी बने । अनि जेल कोरोना भाइरस । विस्तारै सामान्य स्थितिमा आउन लागेको विषम परिस्थिति दोस्रो स्वरुपमा देखा परेको कोरोना भाइरसले फेरि त्रास पैदा गरेको छ । यसको असर खेलकुद क्षेत्रमा समेत पर्न थालेको छ । तर पनि हामी आशावादी छौं, छिट्टै कोरोनाको अन्त्य हुनेछ ।

२०७७ साल बैशाख १ गते ठ्याक्कै एक वर्ष अघि नेपालमा लकडाउन थियो । घरबाहिर निस्किन मनाही थियो । जो बाहिर निस्किन्थे उनलाई कारबाहीसम्म हुन्थ्यो । यस्तो परिदृष्टान्त न कसैले सोचेको थियो, न भविष्य नै । अचानक विश्वभर फैलिएको कारोनाले भटाभट मान्छेको मृत्यु भइरहँदा भाइरसबाट बाँच्ने अर्को उपाय पनि त थिएन । २०७६ साल चैत ११ गतेदेखि देश ब्यापीरुपमा रहेको लकडाउनले नेपालको हरेक क्षेत्रमा असर गर्यो। विशेषगरी अर्थतन्त्र ध्वस्त नै बन्यो ।

यसरी नै कष्टकरमा वित्यो २०७७ साल । अर्थतन्त्रको एउटा अंग खेलकुद । खेलकुद पनि २०७७ सालमा ध्वस्तै भयो । भइरहेका प्रतियोगिताहरु रोकिए । हुन लागेका प्रतियोगिताहरु स्थगित भए । खेलेरै आफ्नो परिवार चलाई रहेका खेलाडी विचलितमा परे । खेलाडीले खेल्न छाडे, फिटनेश गुमाए । लयमा रहेका खेलाडीको प्रदर्शन खस्कियो । यस्ता यस्तै अनेकौं समस्या कोरोनाले पैदा गर्यो। करिब ७-८ महिना नै खेलकुद गतिविधि ठप्प हुँदा धेरै खेलाडीले रोजीरोटी गुमाए । हुन त यो समस्या खेलाडीलाई मात्रै परेको होइन ।

प्रगति र बृत्ति विकासमा २०७७ साल नकारात्मक भएपनि २०७८ वर्ष भने भने सकारात्मक रहोस्, विकासका कामले फड्को मारोस्, कोरोनाको अन्त्यले सबैलाई प्रगतिको बाटोमा डोर्याओस् भन्ने नै सबैको चाहना हो । तर कोरोना भाइरसको अन्त्य हुन्छ या झन अवस्था जटिल हुँदै जानेछ त्यो भने आगामी दिनले देखाउला  ।

फुटबलमा नयाँ सन्देश
लकडाउनपछि नेपाली खेलकुदमा पुनः सुरु गर्ने फुटबल नै हो । २०७७ सालको कातिकमा अभ्यास गर्दै नेपालले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल उसैको मैदानमा खेल्यो । जहाँ कातिक २८ गते पहिलो खेलमा नेपाल २-० ले हारेपनि मंसिर २ गते दोस्रो खेलमा भने गोलरहित बराबरीमा टुंग्यायो ।

त्यसपछि अखिल नेपाल फुटबल संघले (एन्फा) ले रोकिएको सहिद स्मारक बी डिभिजन लिगलाई टुंग्यायो । जसबाट सातदोबाटो युथ क्लब बी डिभिजनको च्याम्पियन बन्यो । त्यसपछि एन्फाले राष्ट्रिय महिला लिगलाई सफलतापूर्वक सम्पन्न गर्यो। फागुनमा सम्पन्न भएको राष्ट्रिय महिला लिगमा एपीएफ क्लब च्याम्पियन बन्यो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा भन्छन्, ‘हामीले रोकिएको कार्यक्रमहरु गर्न सफल भयौं । यसले केही राहात दिएको छ ।’

२०७७ सालमा हुनु पर्ने सहिद स्मारक ए डिभिजन लिग भने समय नभएको कारण हुन सकेन । चैतमा दशरथ रंगशालामा नेपालले थ्री नेसन्स कपको उपाधि जित्यो । २०७८ साल सकारात्मक हुने संकेत समेत हो थ्री नेसन्स कपको उपाधि । त्यसो त नेपालले २०७७ साल मै नयाँ विदेशी प्रशिक्षक पाएको छ । पुरुष फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी र महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्स छन् ।

त्यसो त, यो वर्ष खेलकुदमय हुनेमा आशावादी छन्, एन्फाका अध्यक्ष शेर्पा । ‘कोरोनाको अवस्था त अहिले पनि चिन्ताजनक नै छ । तर हामी २०७८ साललाई देशमा फुटबलमय बनाउन लागि परिरहेका छौं । अब कार्यतालिका अनुसार नै प्रतियोगिताहरु हुनेछ । ग्रास रुटका कार्यक्रमदेखि, स्कुल, कलेज, लिग, कप, गोल्डकप सबै प्रतियोगितालाई स्तरीय बनाउँदै लानेछौं’, उनले भने ।

त्यसो त, नेपालले यो वर्ष महत्वपूर्ण प्रतियोगिता खेल्दैछ । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेल नेपालले खेल्न अझै बाँकी छ। कोरोना भाइरसकै कारण पटक पटक सरिरहेको विश्वकप छनोटको दोस्रो चरणको नेपालले खेल्ने होम खेलहरु ‘सेन्ट्रल भेन्यु’ कुवेतमा हुनेछ । आउँदो जेठमा नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग आफ्नो ‘होम’ खेलहरु खेल्दैछ । त्यस्तै, २०७८ मै नेपालले बंगलादेशमा साफ च्याम्पियनसिप प्रतियोगिता खेल्दैछ ।

नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरु अहिलेसम्म तय भइसकेका यी दुई वटा हुन् । यी दुबै प्रतियोगितामा केन्द्रीत भएर नेपालले राम्रो नतिजा ल्याउने प्रयास गर्नेछ ।

घरेलु प्रतियोगिता भने थुप्रै तय छ । पहिलो पटक नेपालमा फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता हुँदैछ । ‘नेपाल सुपर लिग’ नामक फ्रेन्चाइज लिग दशरथ रंगशालामा बैशाख ११ देखि जेठ १ गतेसम्म सञ्चालन हुनेछ। यसले नेपाली फुटबललाई एक उचाईमा पुर्याउने विश्वास गरिन्छ । जहाँ खेलाडीले पनि राम्रो पारिश्रमिक पाएर खेल्दैछन् ।

खेलाडी अनुबन्धित अक्सनबाट गरिएको थियो । यसले पनि नेपाली फुटबल जगतमा फ्रेन्चाइज लिगले एउटा नयाँ सन्देश दिएको छ । प्रतियोगितामा सात फ्रेन्चाइज टिम छन् । जसमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।

यसपछि यो वर्ष नै सहिद स्मारक ए डिभिजन, बी डिभिजन, सी डिभिजन र मोफसलका प्रतियोगिताहरु हुनेछन् । यसकारण २०७८ सालमा फुटबलले गति लिन्छ भन्नेमा आशावादी हुने ठाउँछ ।

रोकिएको सिरिजले नयाँ उचाईको अपेक्षा
नेपाली क्रिकेटको कुरा गर्दा २०७७ साल शुन्य नै रह्यो । २०७७ सालमा नेपालले एउटा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएन । नेपालले अन्तिम पटक खेलको प्रतियोगिता नै २०७६ सालको फागुनमा एसीसी पूर्वीय क्षेत्रीय टि-२० छनोट हो ।

जहाँ नेपालले खराब प्रदर्शन गर्दै एसीसी पूर्वीय क्षेत्रीय टि-२० छनोटको चौथो स्थानमा आफ्नो यात्रालाई टुंग्यायो भने एसिया कपमा छनोट हुन सकेन । त्यो प्रतियोगितामा नेपाल पहिलो खेलमा मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो । थाइल्यान्डलाई भने ९ विकेटले पराजित गरेको नेपालले अन्तिम खेल भने सिंगापुरसँग खेल्न पाएन । मैदानमा पानी परेपछि खेल रद्द भएको थियो ।

एक वर्ष भन्दा बढि भइसक्यो नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न नपाएको । यसकारण पनि नेपाली खेलाडी भोका छन् । तर के नेपाली खेलाडीको फिटनेश भने पहिलेको जस्तै छ त ?

त्यसो त, कारोनाकै बाबजुत पनि घरेलु प्रतियोगिता भने छिटफुट भयो। प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता मुलपानी र त्रिवी क्रिकेट मैदानमा माघमा सम्पन्न भयो । एपीएफलाई पराजित गर्दै आर्मीले उपाधि जित्यो । त्यस्तै, दाङको लमहीमा पुषमा प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता भयो । जसको उपाधि प्रदेश नम्बर १ ले जित्यो । प्रतियोगिता आयोजनामा धेरै त्रुटी भएपनि कोरोनाको संकटमा प्रतियोगिता हुनु नै ठूलो कुरा भयो। यसैमा खेलाडी रमाए । नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिता गर्यौं भनेर दंग पर्यो ।

त्यस्तै, क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा ‘काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता फागुनमा सम्पन्न गर्यो । फाइनलमा पुलिसले एपीएफलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । त्यस्तै, २०७७ सालको चैतमा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा क्यानले ‘ललितपुर मेयर्स महिला च्याम्पियनसिप टि-२० क्रिकेट क्रिकेट प्रतियोगिता सम्पन्न गर्यो । फाइनलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफले उपाधि जित्न सफल भयो ।

२०७७ सालमा मुख्यतय राष्ट्रिय स्तरको घरेलु प्रतियोगिता पुरुषको दुई महिलाको दुई वटा भयो । क्यानले आयोजक राष्ट्र नेपालसहित नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज टि–२० क्रिकेट प्रतियोगिता गर्दैछ ।

प्रतियोगिता आगामी वैशाख ४ देखि ११ गतेसम्म सञ्‍चालन हुनेछ । त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगिताको लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको छ । नयाँ वर्षको आगमनसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। यसले केही सकारात्मक सन्देश दिएको छ । तर नेपालमा बढ्दो कोरोनाको संक्रमणले प्रतियोगितालाई खल्लो बनाउने सम्भावना पनि उतिकै छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने २०७८ सालमा क्रिकेटमा धेरै परिवर्तन आउने विश्वास राख्छन् । ‘हामीले त्यही अनुसारको कार्यक्रम नै घोषणा गरेका छौं । टि-२० क्रिकेट सिरिज गर्दैछौं । एकदिवसीय सिरिज गर्ने भन्ने कुरा पनि बढेको छ। क्रिकेटको विकासमा हामी लागिरहेका छौं । अब सरकारले गर्ने निर्णय र कोरोनाको असर कस्तो पर्दै जान्छ त्यसले पनि निर्धारण गर्छ’, क्यान अध्यक्ष चन्द भन्छन् ।

केही समयअघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोर पाएको छ । उनकै प्रशिक्षणमा नेपालले अबका अन्तर्राष्ट्रिय खेलहरु खेल्नेछ । नेपालले नामिवियासँग पनि एकदिवसीय क्रिकेट सिरिज खेल्ने तयारी क्यानले गरिरहेको छ ।

त्यसो त, २०७८ साल नेपाली क्रिकेटको लागि निकै व्यस्त वर्ष हुनेछ । नेपालले विश्वकप क्रिकेट लिग-टु अन्तर्गत खेल्नु पर्ने सिरिज अब धमाधम हुनेछ । तर कोरोना भाइरसको कारण सरेको सिरिजहरु अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अझै कुन समयमा खेलाउने टुंगो लगाएको छैन ।

भलिबलको क्रेज
भलिबल नेपालको राष्ट्रिय खेल हो । भलिबल नेपालको हरेक कुनाकन्दरामा खेलिने सर्वाधिक रुचाइएको खेल पनि हो । २०७६ को चैतबाट सुरु भएको लकडाउनले भलिबलमा नराम्ररी असर गर्यो ।

प्रतियोगिताहरु ठप्प भए । करिब १०-११ महिना नै भलिबल प्रतियोगिताहरु भएन । खेलाडीहरु घरैमा बसे । यो लामो अवधिमा धेरै खेलाडीले आफ्नो लय गुमाएपनि । गत माघ तेस्रो सातादेखि मात्रै भलिबल खेल फेरि चलायमान बन्यो । गत चैतमा नेपाल भलिबल संघले पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आयोजना गर्यो । पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लब र महिला तर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेका थिए । यो प्रतियोगिताले पनि कोरोनाको कारण सेलाएको भलिबल क्रेजलाई फेरि जगाउने काम गर्यो। यतिमात्रै हैन प्रतिभावान खेलाडीको आगमन भ यो।

त्यो त, त्रिपुरेश्वरमा भएको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप भन्दा अघि मोफसलमा भलिबलले राम्रो माहोल बनाउने काम गर्यो । पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, नेपालगन्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला, इलाममा सम्पन्न इलाम आमन्त्रण खुल्ला भलिबल प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप लगायतका प्रतियोगिताले कोरोनाविरुद्ध लड्न सक्छौं भन्ने सन्देश समेत दियो । २०७७ सालको अन्यतिर भएको यस्ता प्रतियोगिताले यो वर्ष भलिबल पूरानै लयमा फर्किने संकेत समेत दिएको छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द भन्छन्, ‘पुष महिनापछि हामीले कार्यहरुलाई अगाडि बढायौं । प्रतिकुल समयमा पनि नेपाल भलिबल संघले कार्यहरु सम्पन्न गर्न सक्यो । हामी विस्तारै लयमा फर्किदै छौं तर फेरि कोरोनाको संक्रमणको संख्या बढेसँगै डर त्रास पनि भएको छ ।’

लकडाउनकै कराते, तेक्वान्दो लगायतका खेलहरुमा नेपालले भर्चुअल माध्यमबाट सहभागिता हुँदै स्वर्ण पदक पनि पाएका छ न्। २०७७ सालकै अन्त्यतिर पोखरामा रेस्लिङ, काठमाडौं मै बक्सिङ, ब्याडमिन्टन, टेनिस लगायतका प्रतियोगिताहरु भए ।

त्यसो त, टोकियो ओलम्पिक २०७८ साल मै हुँदैछ । यो ओलम्पिकमा नेपालका खेलाडीले पनि सहभागिता जनाउने छन्। त्यसका लागि खेलाडीहरु अहिले तयारीमा जुटिरहे का छन् ।

प्रतिक्रिया