‘शिक्षा मन्त्रालयले मात्रै निर्णय गरेर विद्यालय बन्द हुँदैनन्’

काठमाडौं । विश्वमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएसँगै भारतलगायत केही देशमा विद्यालय बन्द भएका छन् ।

नेपालमा पनि विद्यालय बन्द गर्ने/नगर्नेबारे बहस शुरु भएको छ । शिक्षा मन्त्रालयले सोमबार सरोकारवालाहरुसँग विद्यालय बन्द गर्ने कि नगर्ने भन्नेबारे छलफल गरेको छ । छलफलमा सहभागी अधिकांश सरोकारवालाले तत्काल विद्यालय बन्द नगर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

विद्यालय बन्द गर्नुको साटो आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने उनीहरुको सुझाव छ । विद्यालय बन्द गर्दैमा संक्रमण नियन्त्रण नुहने उनीहरुको दाबी छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि मन्त्रालय विद्यालय बन्द गर्ने/नगर्ने भन्ने विषयमा समन्वयकारी भूमिकामा मात्रै रहने बताएका छन् । ‘मन्त्रालयले मात्रै निर्णय गरेर पनि विद्यालय बन्द गर्ने होइन,’ मन्त्री श्रेष्ठलाई उद्धृत गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘हामीले खाली एउटा समन्वयकारी भूमिकामात्रै निभाएका हौँ ।’

मन्त्रालयले छलफल गर्ने र त्यसबाट आएको निष्कर्षलाई सरकारसमक्ष पेश गर्ने काममात्रै गर्ने मन्त्री श्रेष्ठले बताएका छन् ।

सहभागीले के के दिए सुझाव ?
छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एक ठाउँमा प्रभाव पर्‍यो भनेर सबै ठाउँमा विद्यालय बन्द गर्न नहुने सुझाव दिएका थिए । ‘कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार निर्णय गर्नुपर्छ,’ व्याञ्जुको सुझाव थियो, ‘संघीय सरकारमा केन्द्रीकृत मानसिकता छ । विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय गर्नुहुँदैन ।’

यस्तै निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भारतमा बढेको संक्रमणलाई देखाएर यहाँ आतंक फैलाउने काम भइरहेको जिकिर गरे । उनको सुझाव थियो‚ ‘भारतमा फैलिएको संक्रमणलाई देखाएर यहाँ आतंकित बनाउने काम नगरौं । यहाँ विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छैन ।’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्द गर्नेभन्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिए । ‘विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाइएमा विद्यालय व्यवस्थापनलाई कारबाही गर्नुपर्छ । अहिले नै विद्यालय बन्द नगरौँ ।’

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले पनि कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने बताए भने सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने धारणा राखेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया