सकियो गैँडा गणना, नतिजा सार्वजनिक आज

काठमाडौँ । गैँडा गणना सकिएको छ । गत चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको हो ।

यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैँडा गणनामा खटिएका थिए । चितवन राष्ट्रिय निकुञ्जको समेत शुक्रबार नै गणना सकिएकाले आज शनिबार नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको थियो । नेपालमा हरेक ५-५ वर्षमा गैँडा गणना गर्ने गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५-५ वर्षमा गैँडा गणना गरिँदै आएको हो । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

यसपटक निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक-एक गरी गैँडा गनेका छन् । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

यसवर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो । गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आक्रमण गर्दा मृत्युसमेत भएको थियो ।

प्रतिक्रिया