भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौँ । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यो कोरोना देखिएयता एकैदिन संक्रमण पुष्टि भएको सबैभन्दा बढी हो ।

कोभिड १९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार पछिल्लो २४ घन्टामा १ लाख ३१ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा लद्दाखमा थपिएका संक्रमित जोडिएका छैनन् । योसँग भारतमा संक्रमितको संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ ।

दैनिक नयाँ संक्रमित थपिने क्रममा पनि संसारभर भन्दा भारतमै बढी छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ८९ हजार २९३, अमेरिकामा ८० हजार १६१ र टर्कीमा ५५ हजार ९४१ जनामा कोरोना देखिएको छ ।

नयाँ संक्रमित थपिएसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा ८०२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ ।

भारत सरकारले संक्रमण बढ्न थालेपछि विगत केही सातायता खोप अभियानलाई पनि तीव्रता दिएको छ । त्यहाँ हालसम्म ९ करोड १ लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

प्रतिक्रिया