निजामती सेवा भ्रष्टाचारबाट टाढा रहनुपर्छ : ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रुपमा रहेको बताएका हुन् ।

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको बताउँदै उनले भने, ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो, सोचमा सकारात्मक परिवर्तनको अभाव । निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन ।’

कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । उनले भने, ‘कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्राेसँग जित्न सकिरहेको छैन । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिच्किचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिले नागरिक र कर्मचारीतन्त्रको बीचमा दुरी बढाउँदै लगेको छ ।’

कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरुको विवेकशील समूहको रुपमा स्थापित गर्न सक्नुपर्ने उनकाे तर्क छ । उपप्रधानमन्त्री  पोखरेलले भने, ‘कर्मचारीतन्त्र निस्पृह, असंवेदनशील र जड समूह होइन र हुन सक्दैन । यो एउटा संवेदनशील र गतिशील मानवहरुको विवेकशील समूह हो । यस हिसाबले आफूलाई यसले अगाडी बढाउनुपर्छ । त्यसैले कर्मचारी तन्त्रले आफ्नो उत्तरदायित्व बुझ्नुपर्ने हुन्छ र जवाफदेहिता सम्झनुपर्ने हुन्छ ।’

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मुल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिक मैत्री कार्यशैलीबाट लाेकप्रिय बनाउन आवश्यक रहेको पनि उनले बताए ।

प्रतिक्रिया