म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी : बाह्र सय हेक्टर वन क्षेत्रमा क्षति

म्याग्दी । यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जंगली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् ।

म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

केही दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ सुरक्षाकर्मी स्थानीयवासी परिचालन गर्‍यो । स्थानीयवासी र सुरक्षाकर्मीले दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन् । आगलागीबाट सो वनका बहुमूल्य जडीबुटी, जङ्गली जनावर र वन पैदावार नष्ट भएका गौश्वाराका रत्नबम मल्लले बताए ।

यसैगरी पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी सामुदायिक वनमा आगलागी हुँदा करिब ६० हेक्टर जंगलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताए ।

प्रतिक्रिया