बिस्का जात्रा : कृषि‚ प्रकृति र संस्कृतिको अन्तरसम्बन्ध

भक्तपुर । पोहोर साल कोरोना महामारीबिच रोकिएको बिस्का जात्रा यसपाली पनि कोभिडकै कारण रोकिएको छ । विशेषतः नेवारी समुदायका मानिसहरुले मनाउने यो जात्राले नयाँ वर्षलाई स्वागत गर्छ । प्रायः नेवारी समुदायमा मनाइने सबै जात्रा तिथिमा आधारित भएर मनाउने गरिन्छ । तर बिस्का भने तिथि नभई गतेलाई आधार मानेर मनाउँदै आइएको छ ।

यदि चैत महिना ३० गतेसम्मको छ भने बिस्का जात्रा चैतको २७ गतेबाट सुरु हुन्छ । यदि चैत महिना ३१ गतेसम्मको छ भने यो जात्रा चैतको २८ गतेबाट सुरु हुन्छ । लिच्छविकालमा सुरु भएको मानिने यो जात्रा ३ सय वर्ष पुरानो भएको अनुमान गर्छन् सँस्कृतिविद्हरू ।

सोही तीन सय वर्ष पुरानो बिस्का जात्राको तयारी अहिले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा देख्न सकिन्थ्यो । कोभिडको त्रास केही कम भएपछि शिल्पकार र कालीगढहरू मेहेनत गरेर बिस्का जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माणमा जुटेका थिए ।

तर बढ्दो कोभिड महामारीको कारण बिस्का जात्रा नगर्ने निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रले सो निर्णय गरेको हो ।

बिस्का जात्रा व्यवस्थापनका एक सदस्य ओम धगुडेलले भने मुख्य पुजारीद्वारा पुजा गरी सीमित मान्छेमात्र उपस्थित भएर जात्रा सञ्चालन गर्ने जानकारी दिएका छन् । तयारी पुरा हुन लागिसकेपछि बिस्का जात्रा रोक्दा संकट आइलाग्न सक्ने भन्दै धगुडेलले सभ्य तरिकाले कोभिडलाई ध्यानमा राखी जात्रा सञ्चालन गर्ने बताए ।

बिस्का जात्रासँग जोडिएका धेरै किंवदन्तीहरू छन् । त्यसमध्ये एउटा रोचक किंवदन्ती छ- प्राचीन कालमा भक्तपुर दरबारमा एक राजकुमारी बस्थिन् । उनको विवाह भएकै रात उनको श्रीमानको मृत्यु हुन्थ्यो । राजकुमारीले पटक पटक विवाह गर्दा पनि उनको सबै श्रीमानको मृत्यु भएकाले राज्यका सबै प्रजा चिन्तित थिए । तर एकदिन एक राजकुमारले राजकुमारीको श्रीमानलाई सर्पले डसेर मार्ने कुरा पत्ता लगाएछन् । त्यसपछि ती बहादुर राजकुमारले तरबार लिई त्यो सर्पलाई टुक्रा टुक्रा पारेर मारिदिएपछि उक्त सर्पको वध गरेको उत्सवको रुपमा त्यसबेला ८ रात ९ दिनसम्म यो जात्रा मनाइएको थियो । त्यही बेलादेखि बिस्का जात्राको सुरुवात भयो भन्ने किंवदन्ती रहेको छ ।

बिस्का जात्रा नेवारी समुदायको एक संस्कृतिमात्र नभएर प्रकृति, कृषि र संस्कृतिलाई एक आपसमा जोड्ने एक कडी भएको बताउँछिन् पुरातत्त्व विभाग भक्तपुरकी कार्यालय प्रमुख अरुणा नकर्मी ।

पुरातत्व विभाग भक्तपुरकी कार्यालय प्रमुख अरुणा नकर्मी ।

नकर्मी भन्छिन्, ‘बिस्का जात्राले नयाँ वर्षलाई स्वागत गर्छ । त्यतिमात्र नभएर यस जात्रामा भैरवको पूजा गरिन्छ । प्रकृतिमा विपद् नआ‌ओस्, रोग नलागोस्, जलवायुले कृषिमा क्षति नपुगोस् भनेर भैरवको आराधना गरिन्छ । त्यसैले यो संस्कृति कृषिसँग पनि जोडिन्छ । बिस्कामा प्रयोग हुने रथ सल्ला र सालको काठबाट बनाइन्छ । त्यसले संस्कृतिको प्रकृतिसँगको अन्तरसम्बन्ध झल्काउने काम गर्छ ।’

७४ वर्षीय लालबहादुर टमठु भक्तपुरको टौमढीमा बसेर भैरवको रथ निर्माणलाई खुब चासोका साथ नियालिरहेका थिए ।

‘बिस्का‚ भगवान् शिवको भयंकर रुप- भैरव र भैरवकी पत्नी भद्रकालीको आराधना गरेर मनाइन्छ । यो एउटा उत्सवमात्र नभएर सृष्टिको स्वरुप पनि हो । यो जात्राले सृष्टि चलाउन महिला र पुरुष एक हुनुपर्छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ । त्यसैले यस जात्रामा भैरव र भद्रकालीको रथ जुधाइन्छ । यसलाई भैरव र भद्रकालीको मिलन भएको पलको रुपमा समेत व्याख्या गरिएको छ‚’ लालबहादुर भन्छन्, ‘मच्छिन्द्रनाथ पनि बिस्का जात्रा हेर्नका लागि भक्तपुरमा आउने गर्थे भन्ने किंवदन्ती पनि रहेको छ ।’

सांस्कृतिक सम्पदा संरक्षणकर्ता रविन्द्र पुरी यो जात्राले भक्तपुरको संस्कृति जोगाउन अहम् भूमिका खेलेको बताउँछन् ।

रविन्द्रले चैतमा सुरु भएर वैशाखमा सकिने यो जात्रा हेरेर भक्तपुरको कला, संस्कृति, परम्पराबारे गहिराइमा बुझ्न सकिने बताए । भक्तपुरको इतिहाससमेत बिस्कासँग जोडिएको उनी बताउँछन् ।

चैत्रमा सुरु भएर वैशाखमा सकिने बिस्का जात्रालाई भक्तपुर गुठी संस्थाले व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया