भारतबाट फर्केका ५६ जनाको एन्टिजेन परीक्षणको नतिजा पोजेटिभ

काठमाडौं । भारतबाट फर्कने बढेसँगै कोरोना संक्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको संक्रमण धेरै देखिन थालेको छ ।

शुक्रबार र शनिबार सीमानाका भएर नेपाल फर्किएका व्यक्तिको एन्टिजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको हो ।

शनिबारमात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३२ जनाको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

उनका अनुसार एन्टिजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ ।

एन्टिजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ । एन्टिजेन पोजेटिभ आएका व्यक्तिहरूमा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन् ।

सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किएकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हुदा परीक्षणमा समस्या हुँदै आएको छ ।

सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको संक्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन् ।

भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन् । केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागि समेत घर फर्किएका हुन् ।

सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावतको कार्य भइरहेकाले कोरोनाको संक्रमणको खतरा बढेको छ ।

प्रतिक्रिया