सिर्फ कुकुरको सेवा होइन, मनको शान्ति पनि

  • समीक्षा गाहा

काठमाडौं । मान्छे भिन्नभिन्नै कुराका सौखिन हुन्छन् । यस्तै ललितपुरकी इन्दु व्यञ्जनकार कुकुरको सौखिन हुन् । करिब १६ वर्षअघि ललितपुरकै मंगलबजारमा इन्दुले एउटा घाइते कुकुर भेटिन् । शरीरभरी खटिरा आएर पानी बगिरहेको उक्त कुकुरलाई मानिसहरुले त्यहाँबाट सकभर लखेट्ने प्रयास गरिरहेका थिए । तर, कुकुर हिँड्ने अवस्थामा थिएन । कसैले कुकुरमाथि पानी हालिदिन्थे त कसैले ढुंगा हान्थे ।

मानिसहरूले कुकुरमाथि गरेको त्यस्तो हर्कतले इन्दुको मन रोयो । उनले कुकुरलाई उठाएर अस्पताल पुर्‍याइन् । कुकुरलाई उठाएर अस्पतालसम्म पुर्‍याउँदासम्म इन्दुको शरीर कुकुरको शरीरबाट बगेको दुर्गन्धित पानीले भिजिसकेको थियो । तर, इन्दु घिनाइनन् । बरु झनै माया लागेर आयो उनलाई ।

कुकुरलाई अस्पताल लगेपछि घरबेटी आमाले इन्दुलाई भनेकी थिइन्‚ ‘तँलाई धेरै धर्म लाग्छ, हामीलाई त त्यो कुकुरको छेऊमा जान पनि घिन लागेको थियो । तर, तैँले त समाएर अस्पताल लगिस् । साँच्चै आशिष लाग्छ तँलाई ।’

केही समयको उपचारपछि कुकुर पूर्ण रुपमा निको भयो । घरमा उनका छोराछोरीले पनि कुकुर पाल्ने भनिरहेका थिए ।

आखिर भयो पनि त्यस्तै, उनलाई लागेको थियो- कुकुर ठिक भएपछि आफैँ कतै जान्छ होला । तर, कतै गएन ।

इन्दुले त्यो कुकुरको नाम ‘बुनु’ राखिदिइन् । अन्ततोगत्वा बुनु परिवारको सदस्यजस्तै बन्यो ।

इन्दुले बुनुको साथी पनि ल्याइदिइन् । केही समयपछि बुनुले छोरी पनि पायो । बुनुको छोरीको नाम रहने भयो- मुनु । मुनु खाली घुम्नेमात्रै गर्थ्यो । यूएन पार्कतिर अन्य कुकुरहरुलाई हेरचाह गर्न राम व्यञ्जनकार (इन्दुकी श्रीमान्) बाइकमा जान्थे ।

उनीसँगै बाइकमा मुनु चढ्थ्यो र घुम्थ्यो । तर, पछि बिरामी भएर मुनु मर्‍यो । इन्दुले निन्याउरो मुख लगाएर भनिन्‚ ‘बिरामी भयो । औषधि खाँदैनथ्यो, मर्‍यो ।’

इन्दु खासगरी घरपालुवा जनावरहरुसँग आफ्नो गहिरो प्रेम रहेको सुनाउँछिन् । एक छोरा, एक छोरीकी आमा इन्दुका श्रीमान् राम पनि कुकुरहरुलाई असाध्यै माया गर्दा रहेछन् । तर, इन्दुका सासू–ससूरालाई भने कुकुर भन्नासाथ एलर्जी हुने रहेछ । तर, पनि इन्दुले खासगरी असहाय कुकुरहरुलाई बटुलेर सेवा गर्न थालिन् । जुन, सिर्फ कुकुरको सेवामात्रै होइन, इन्दुको मनको शान्ति पनि हो ।

घरमै २९ वटा कुकुर पालिरहेकी इन्दुले संख्या बढ्दा खर्च पनि बढेको सुनाउँछिन् । ‘सामान्यतया मानिसको बिहानीको सुरुवात घरपरिवारका सदस्यसँग हुन्छ,’ इन्दुले भनिन्, ‘तर, मेरो भने अलिक भिन्न छ ।’ बिहानीको समय कुकुरहरुले गरेको फोहोर सफा गर्दै बित्छ भने  त्यसपछि इन्दु खाना खुवाउनेलगायतका काममा समय गुजार्छिन् ।

तर पनि इन्दु २९ कुकुरलाई मात्र खाना खुवाउँदिनन् । उनी भन्छिन्‚ ‘मन त मेरो संसारभरीकै कुकुरलाई खाना खुवाउने हो । तर, सम्भव नहुँदो रहेछ ।’

इन्दुले पहिले आफ्नो घरको २९ वटा कुकुरलाई मात्रै खाना खुवाउँथिन् । तर, अहिले यूएन पार्कतिरको कुकुरलाई पनि खाना खुवाउँछिन्, जुन जुन कुकुर चाहिँ झनै आफैँ हिँडडुल गर्न सक्दैनन्‚ विशेषगरी त्यस्तालाई ।

कुकुरको सेवामा हरसमय खटिएकी इन्दु भन्छिन्‚ ‘अहिले खाना पनि ठूलो भाँडामा पकाउनुपर्छ । समय पनि धेरै नै लाग्छ । जुवागलदेखि नयाँ बानेश्वरसम्म खाना खुवाउँदै जान्छु ।’ इन्दुले थपिन्, ‘खाना खुवाउँदै जाँदा अरु कुकुरहरू पनि भेटिन्छन् । अनि खोज्दै जाँदा कहिले त अझ टाढासम्म पुग्छु ।’

इन्दुले प्रायः समय कुकुरहरुकै साथमा बिताउने गर्छिन् । आफ्नो सन्तानभन्दा कुकुरसँगै समय बिताउने गरेको इन्दुले सुनाइन् । ‘त्यसो हुँदा पनि म झनै कुकुर, बिरालोलगायतका घरपालुवा जनावरहरुसँग नजिक बनेँ । त्यसरी अझ धेरै नजिक भएँ,’ इन्दुले सुनाइन् ।

बिहान करिब ११ बजेतिर त्यहाँ पुगेपछि मलाई त्यहाँको एउटा दृश्यले तान्यो । त्यहाँ पुग्दा ठूलै भोजभतेर चलेजस्तो लाग्यो । कारण, ठूलै भाँडामा खाना पाकिरहेको थियो भने बडेमानको कुकरमा मासु पनि पाकिरहेको थियो ।

शान्तसँग बसिरहेका ती कुकुरहरुहरुका आ–आफ्ना कोठा रहेछन् । कुकुरहरुलाई ब्ल्यांकेट र डस्ना दिइएको रहेछ । कुकुरहरू मज्जाले त्यहाँ सुत्दारहेछन् । इमान्दारीतको पाठ पढाएकी इन्दुले सबै कुकुरहरुलाई उही र उस्तै व्यवहार दिन्छिन् ।

अँ साँच्ची ! कुकुरहरू पनि कति संस्कारी ? बाहिर खाना पस्किँदासम्म पनि उनीहरू चुपचाप नै बसिरहन्छन् । नबोलाउँदासम्म नआउने कुकुरहरू देखेर मलाई लाग्यो, इन्दुका कुकुरहरुबाट मान्छेले पनि सिक्न सक्नेरहेछन् ।

‘बाहिरको कामले गर्दा आज खाना दिन अलिक ढिला भयो,’ इन्दु बर्बराउँछिन्, ‘भोकाइसकेका होलान् ।’ इन्दुलाई खाना खुवाउनका लागि हतास छ । उनी हतार–हतार खाना पकाउँछिन् र बाहिरका कुकुरहरुलाई खाना दिनका लागि हिँड्छिन् ।

कुकुरहरुले दिनमै १५ केजी मासु खाने गरेको इन्दु सुनाउँछिन् । कहिलेकाहीँ अक्कलझुक्कल जन्मदिनको अवसरमा केही मनकारी व्यक्तिले सहयोग गरेको पनि इन्दु सुनाउँछिन् । ‘नत्र त आफैँले नै किन्छु । खर्च त धेरै नै हुन्छ,’ इन्दु भन्छिन् । तर, आफूलाई अझै धेरै कुकुरहरुलाई खाना खुवाउन मन भएको भएपनि खर्चका कारण थप कुकुरहरुलाई खाना खुवाउन नसकेको गुनासो इन्दुसँग छ ।

कहिलेकाहीँ कुकुरहरु राति कराउने र छिमेकीहरू रिसाउने गरेको अनुभव इन्दुसँग ताजै छ । उनले भनिन्, ‘कुकुरको जात हो नि । कहिलेकाहीँ राति पनि कराउँछन् । प्रायशः छिमेकीहरुको यसप्रति चित्त दुखाइ हुने गर्छ । कुकुरहरुलाई पनि भोक लाग्छ, कुट्दा दुख्छ, गर्मी मौसममा गर्मी र जाडोमा चिसो हुन्छ । बोल्नमात्र सक्दैनन् । त्यसो भन्दैमा माया नै नगर्ने भन्ने हुन्छ र ? मलाई त कुकुर-बिरालोहरुको एकदम माया लाग्छ ।’

उनका श्रीमान् राम‚ वर्कशपको कामसँगै कुकुरको हेरचाह गर्न पनि भ्याउँछन् ।

बिहान उठेदेखि साँझसम्म त्यहीँ वर्कशपमा बिताउने रामले घरीघरी कुकुरहरूको हेरचाहका लागि समय छुट्याउँछन् । इन्दुका साथीहरू कहिलेकाहीँ घुम्न जाउँ भनेर प्रस्ताव ल्याउँछन् । तर, इन्दु जाँदिनन्, भन्छिन्‚ ‘तर, म जाँदिनँ । म नै बाहिर गएँ भने कुकुरहरुलाई कसले खाना दिन्छ ? फेरि दिँदा पनि खाने हो कि नखाने हो ।’ इन्दुले कुकुरहरुलाई पनि बच्चाबच्चीजस्तै खाना खुवाएर ब्ल्यांकेट ओढाएर सुताउने गरेको सुनाइन् ।

यूूएन पार्कमा खाना खुवाउँदा पार्कमा आएका मानिसहरुले ढुङ्गामाथि खाना राखेर नखुवाउन भनेपछि आफूले मिलाएर ढुङ्गामाथि नै खाना खुवाउने गरेको सुनाउँछिन् । ‘तपाईँहरुलाई बस्न त यस्तो लाग्छ भने उनीहरू (कुकुर)लाई खाना खान कस्तो लाग्छ ? सोच्नुस् त ?,’ त्यसो भन्नेहरुलाई उद्धृत गर्दै इन्दु सुनाउँछिन् ।

कतिपयले इन्दुलाई कुकुरलाई खाना पकाएर खुवाउनु भनेर निश्चित पैसा दिने गरेको स्मरण गर्छिन् । ‘तर, कतिपयले भने मुन्टो बटारेर हिँडछन्,’ इन्दुले सुनाइन्, ‘कोही–कोहीले बिस्कुट किनेर पनि खुवाउँछन् ।’

प्रतिक्रिया