चर्चित क्रिकेटर तेन्दुलकर अस्पताल भर्ना

नयाँ दिल्ली । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उनको स्वास्थ्य अवस्था झन् झन् बिग्रिँदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।

खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ । शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफू चाँडै नै निको भएर घर फर्किने विश्वाससमेत व्यक्त गरे । खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

सन् १९७३ को २४ अप्रिलमा भारतको मुम्बईमा जन्मिनु भएका तेन्दुलकर भारतको क्रिकेट टोलीको कप्तान भएका थिए । सन् २०११ क्रिकेट विश्वकप भारतले जित्दा भारतीय खेलाडीको टोलीको नेतृत्व तेन्दुलकरले नै गरेका थिए । उनले भारतका लागि ६ क्रिकेट विश्वकप खेलेका छन् ।

उनले सन् १९८९ मा पाकिस्तानविरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवन प्रारम्भ गरेका थिए । टेस्ट तथा एक दिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाउने इतिहास पनि उनकै नाममा छ । टेस्ट क्रिकेटमा ४९ शतक तथा एक दिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् भने पुरुष समूहको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि तेन्दुलकर नै हुन् ।

प्रतिक्रिया