मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

काठमाडौं । प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ ।

मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकोमा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी दिए । गत शुक्रबार मध्याह्नदेखि मौसम खराबीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा विगत पाँच दिन यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान सञ्चालन भएको थियो ।

आन्तरिक गन्तव्यमा केही सङ्ख्यामा मात्रै उडान भए ।

बुधबार अपराह्नपछि काठमाडौं उपत्यकासहित देशभरको मौसममा सामान्य सुधार आएपछि उडान केही सहज भएको थियो ।

विमानस्थलका महाप्रबन्धक तिवारीले क्रमशः मौसम सुधार आएकाले उडान रद्द हुने क्रम पनि बुधबारसम्म घटेको र राति काठमाडौँसहित विभिन्न स्थानमा भएको वर्षाले उडान सहजता आएको बताए ।

बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य स्थानमा पनि उडान प्रभावित बनेको थियो । विमानस्थलका अनुसार विगत ६ दिनको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ करिब ४० प्रतिशत उडान रद्द भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ पनि थोरै संख्यामा उडान रद्द र केही उडान अन्यत्र मोडिनु (डाइभर्ट) भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकाप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्दै आएकोमा कोभिड-१९ सङ्क्रमणपछि हाल १९ वायुसेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।

पश्चिमी वायु सक्रिय भएपछि बुधबार साँझदेखि काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू–भागमा बदली नरहे तापनि तुवाँलो देखिएको छ ।

काठमाडौँको आकासमा पनि सामान्य तुवाँलो देखिन्छ । आज देशका पहाडी भेगमा बदली हुनका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार काठमाडौँमा ९ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा २० र ओखलढुङ्गामा १७ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम १३ दशमलव ६ र अधिकतम २६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com