नेपाल बंगलादेश बैंकद्वारा एनबी अनलाइन कार्ड शुरु

काठमाडौं । नेपाल बंगलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी परिपत्रअनुसार एनबी अनलाइन कार्ड संचालनमा ल्याएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरूबाट नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्ने बैंककोे भनाइ छ ।

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी वर्गका लागि विदेशबाट मगाइने आई-२० का लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

साथै सामाजिक संजालमार्फत् आफ्नो व्यवसाय प्रवर्द्धनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया