भन्सार एजेन्टका लागि अनलाइन दरखास्त आह्वान

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्ट इजाजत पत्रका लिनका लागि दरखास्त आह्वान गरेको छ । विभागले झण्डै २० वर्षदेखि नखुलाएकाे भन्सार एजेन्ट इजाजत पत्रका लागि अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । ६६० जना भन्सार एजेन्ट नियुक्त गर्ने सरकारकाे तयारी छ ।

आवश्यक योग्यता तथा मापदण्ड पूरा गरेकाहरुले विभागको वेवसाइटमा रहेको अनलाइन दरखास्त प्रणालीको लिङकमार्फत दरखास्त दिन सक्ने जनाइएको छ । भन्सार एजेन्टको इजाजत पत्रका लागि आवदेन दिन २१ वर्षको उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने विभागले जनाएको छ ।

त्यस्तै, मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तीमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ । विभागले नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने रकम बाँकी नभएको र कुनै फौजदारी अभियोगमा अदालतबाट कसूर प्रमाणित नभएको हुनुपर्नेछ ।

दरखास्त दिन ३ हजार दस्तुर लाग्ने विभागले जनाएको जनाएको छ । ५ वैशाखसम्म दरखास्त दिने म्याद रहेको छ । दोब्बर दस्तुरमा १२ वैशासम्म दरखास्त दिन सकिने विभागले जनाएको छ ।

विभागले लिखित तथा अन्तवार्ताबाट छनौट भएका व्यक्तिले नतिजा प्रकाशन भएको ९० दिनभित्र भन्सार इजाजत दस्तुर बापत ७ हजार तिर्नुपर्ने छ । धरौटीबापत ७ लाख रुपैयाँ नगद वा सो रकम बराबरको बैंक जमानत बुझाएपछि भन्सार विभागबाट भन्सार एजेन्टको इजाजत प्राप्त गर्न सक्नेछन् ।

विभागले १०० को पूर्णाङ्कको परीक्षा लिने व्यवस्था गरेको छ । यसमा जसमा बस्तुगत बहुउत्तर परीक्षा प्रणाली हुने जनाएको छ । त्यस्तै विभागका अनुसार ५० प्रश्नहुने उक्त परिक्षाका लागि १ घण्टाको समय तोकेको छ । आवेदकहरूले ४० नम्बर ल्याएमा उत्तीर्ण हुनेछ । त्यस्तै, विभागले अन्तवार्ताको लागि २० पूर्णाङ्क तोकेको छ ।

पाठ्क्रममा भएका सबै पाठ्यांशहरुबाट यथा सम्भव प्रश्न सोधिनेछन् भने गल्ती गरेको उत्तरका लागि २० प्रतिशत अंक कट्टा गरिनेछ । त्यसैगरी, लिखित परीक्षाबाट छनौट भएका विद्यार्थीहरुलाई मात्र अन्तवार्ता समावेश गराइनेछ ।

विभागले तोकेको पाठ्यक्रम अनुसार लिखित परीक्षाको लागि अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियाबाट ४० अंकको, नेपाल कानून सम्बन्धी जानकारीबाट ३० अंक, भन्सार सम्बन्धी विषयहरूबाट २० अंकको र विविधबाट १० अंकको प्रश्न सोध्ने विभागले जनाएको छ ।

प्रतिक्रिया