३४ वर्षदेखि दशगजामा बस्ती !

  • सुमन सुस्केरा

विराटनगर । भारतको जोगवनी नगरपालिका–५ का महेन्द्र यादव नेपाल भारत सीमा क्षेत्रको दशगजामा बस्न थालेको ३४ बर्ष भयो । सन् १९८७ मा आएको बाढीले उनको घरबास बगायो । त्यसपछि उनको परिवार दशगजामा आएर बस्न थाल्यो । त्यो बेला यसरी बस्ने उनी एक्लै थिए । उनी दशगजामा आएरै बस्नु पर्ने बाध्यता पनि हैन ।

उनको घरको दक्षिणपट्टी भारतले बनाएको एउटा कालोपत्रे सडक छ त्यसको दक्षिणमा रहेको बाँसघारीको छेउमा उनको एक बिगाहा जग्गा पनि छ तर उनले यो दशगजा क्षेत्र छाडेका छैनन् । उनको जग्गा भारतको जोगबनीमा मात्र हैन नेपालको बिराटनगर महानगरपालिकाको दरैयामा पनि छ । दरैयामा १ बिगाहा ५ कठ्ठाको जग्गा उनका छेरा राजारामको नाममा छ । लामो समयदेखि बसेको ठाउँ छोड्न मन नलागेर दशगजामै बसिररहेको उनले बताए ।

‘हामी आएर यहाँ बस्न थालेको ३४ बर्ष भयो,’ उनले भने, अहिलेसम्म पनि हामी व्यवस्थित रुपमा बस्न पाएको छैन ।’

महेन्द्र जस्तै महेश यादव पनि यहाँ बस्न थालेको केही वर्ष भयो । महेन्द्र दशगजामा बस्नथालेपछि यहाँ आएर बस्दा हुनेरहेछ भन्ने लागेर अन्य भारतीय पनि दशगजामा आएर घर बनाएर बस्न थाले । त्यहीँ बस्दै गर्दा उनीहरुका छोराछोरी कतिपय विस्तारै नेपाल प्रवेश गरेर यतै घर बनाएर बसे भने कतिपय त्यहीँ बसेर गुजारा गरिरहेका छन् ।

महेश यादवको परिवार पहिला दरभंगामा बस्थ्यो । उनीहरुको पुर्ख्याैली घर पनि उतै हो । उनीहरु पाँच दाजुभाई मध्ये ३ जना यही दशगजा क्षेत्रमा आएर घर बनाएर बसेका छन् । महेशका बुबाले उनीहरुलाई दशगजा ल्याएका थिए ।

‘हामी अहिले तीनभाई यहीँ बसेका छौ, उनले भने, हाम्रो कमाई खाने ठाउँ भनेको नेपालको रघुपति जुटमिल हो, लकडाउनपछि जान दिएको छैन,’ ज्यामी काम गरेर जीवन कटाउने गरेको महेशले बताए ।

यहीँ ३० वर्षदेखि दशगजामा बस्दै आएकी जिप्छिदेवी यादव ५ जना छोराछोरी लिएर बसेकी छिन् । ‘सँधै नेपाल सरकारले हटाउँछ भन्छन्, कहिले हिड्नुु पर्ने हो ?’ उनले त्रास व्यक्त गरिन् ।

दशगजामा बस्नेहरुको चिन्ता दशगजामा ठूलो घर बनाउन नदिएको छ । सन् १९८७ देखि मोरङको दरैया बस्ती र भारतको टिकुलिया बस्तीको बिचमा रहेको दशगजाको पिलर नम्बर १८०/२ को आसपासमा १८ घर बसोबास गर्दै आएका छन् ।

यसलाई हटाउने बारे राज्यको तर्फबाट खासै ध्यान गएको देखिन्न । जोगवनीसँग जोडिएको यो ठाउँ मात्र हैन, धेरै दशगजा क्षेत्र अतिक्रणको चपेटामा छन् । मोरङका बुद्धनगर, चोप्राहा, रानी, बक्राहा (लुना) नदी चुनिमाडीमा विवाद छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सीमा क्षेत्रमा हुने अतिक्रमण जोगबनीमा देखिएको बताए । मोरङमा ठूलो मात्रामा अतिक्रमण नदेखिएको भएपनि केही ठाउँमा बाढीले पिलर बगाएकाले सीमा अतिक्रण भएको बताए । उनका अनुसार दशगजामा भएको बस्ती चुनौतीपूर्ण छ । बस्तीका नजिक भएका सबै दशगजा क्षेत्रमा घर बनेको कारण अतिक्रमित अबस्थामा छ ।

‘भारतीयले गरेको सीमा र दशगजामा भएको बस्तीले समस्या बनाएको छ,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘म चाँडै त्यसको तथ्यांक लिएर सार्बजनिक गर्दैछु ।’

उनले नेपाल–भारत सुरक्षा अधिकारीबीचको कोर्डिनेश कमिटिको बैठकमा तथ्यांङ्कको आधारमा यस विषय उठान गरी समाधान गरिने बताए । दशगजा क्षेत्र अतिक्रमण गर्नेमा अधिकांश भारतीय नागरिक छन् । दशगजामा एक–दुईजना आएर बस्ने र बिस्तारै बस्तीकै रुपमा विकास गर्ने काम दशगजामा भइरहेको छ ।

प्रदेश–१ मा कहाँ कहाँ ५ सीमा अतिक्रमण ? 

मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङका सीमा क्षेत्र पनि अतिक्रमण भएको छ । झापाका पाठामारी, मेचीगाउँ, महेशपुर, मेचीपुल, भद्रपुर–गलगलिया, काँकरभिट्टा, बारिसजोत, मदनजोत, नकलबन्दा, बाहुनडाँगीमा पनि भारतले अतिक्रमण गरेको छ । इलामका चित्रेडाँडा, पशुपतिनगर, झिझिया भन्ज्याङ, मानेभन्ज्याङबाट सन्दकपुर जाने बाटो, मानेभन्ज्याङ, सन्दकपुर, जौबारी डाँडा अतिक्रमणमा परेका छन् । पाँचथरका कालपोखरी, च्याङथापु, फालेलुङ तथा ताप्लेजुङ सीमा क्षेत्रका डाँडो चिवाभन्ज्याङ, टिम्बापोखरी, मेगना तुम्लीङ सीमामा विवाद छ।

सशस्त्रको उपस्थिति

सी सुरक्षालाई ध्यानमा राखेर सशस्त्र प्रहरीको उपस्थिती बढाएको छ । भारतसँग सीमा जोडिएको मोरङमा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट्) संख्या ११ पुर्याइएको छ। मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रंगेली नगरपालिका–५ धनापट्टी र रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा केही दिनअघि मात्र बिओपीको स्थापना गरिएको छ । सशस्त्र प्रहरीको सक्रियता बढाउनको लागि अहिले बिओपी स्थापना गर्ने काम शुरु भएकोले सीमा रक्षाको लागि सहज हुने प्रजिअ निरौलाले बताए ।

प्रतिक्रिया