पीपीपी मोडलमा मल कारखाना खोल्न लगानी बोर्डलाई जिम्मा दिइने

काठमाडौं । मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुन्छी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना प्रक्रिया अघि बढाउन स्वीकृती प्रदान गरेको हो ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक कार्यविधि तयार गरी लागू गर्न मन्त्रिपरिषद्ले मन्त्रालयलाई स्वीकृति दिएको हो । रासायनिक मल कारखानाको पूर्वाधार निर्माण गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानले भोग्दै आएको समस्याको दीर्घकालिन समाधान गर्न सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन् ।

‘मलको तत्कालिन समस्या समाधान हामीले गरिसकेका छाैं,’ उनले भनिन्, ‘मलको दिर्घकालिन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।’

उनले यस वर्ष मलको अभावमा किसानहरु छटपटाउनु नपर्ने र उत्पादन पनि नघट्ने बताइन् ।

प्रतिक्रिया