ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु

काठमाडौं । ज्योति विकास बैंकले बिहिबार देखि रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा कूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ।

अमुवा बजारलाई स्मार्ट बनाउने र नगद रहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५०वटाभन्दा बढी क्यूआर कोड वितरण गरेको बैंकले जनाएको छ ।

उक्त अवसरमा क्यूआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्रभट्ट, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए ।

क्यूआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्यूआरको स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

क्यूआर कोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत् डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल,सहज र सुरक्षित भुक्तानीलगायतका थुप्रै सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया