यही हप्ताभित्र पुनरावलोकन जाँदैछौँ : पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले एमाले–माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि यही हप्ता जाने बताएका छन् । मकालु खबरसँग कुराकानी गर्दै नेता पोखरेलले सर्वोच्च अदालतको फैसला अस्वभाविक भएको भन्दै छिट्टै पुनरावलोकनका लागि जाने बताएका हुन् । ‘पुनरावलोकनका लागि जाने भन्नेबारे पहिल्यै पार्टीमा निर्णय भएको थियो,’ नेता पोखरेलले भने, ‘हामी अब प्रिन्सिपल्ली जाँदैछौँ । त्यसका लागि गृहकार्य गर्दैछौँ । हामी यही हप्ताभित्र जान्छौँ ।’

सर्वोच्चको उक्त फैसलालाई आफ्नो पार्टीले शुरुदेखि नै अस्वभाविक भएको बताउँदै आएको नेता पोखरेलले स्मरण गराए । ‘हामीले शुरुका दिनदेखि नै सर्वोच्चको यो फैसला अस्वभाविक नै हो भन्दै आएका थियौँ,’ नेता पोखरेलले भने, ‘हामीले कानूनका जानकारहरुसँग परामर्श पनि लिइसकेका छौँ ।’

नेता पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताए । पोखरेलले भने– ‘फिर्ता लिने कि नलिने भन्नेबारे पार्टी कमिटी बैठकहरुमा छलफल भएपनि अहिल्यै निर्णय भने गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।’ समर्थन फिर्ताबारे पार्टीमा सुक्ष्म छलफल भइरहेको नेता पोखरेलको भनाइ छ । ‘घनिभूत छलफलहरु भइरहेको छ । के गर्ने, कसो गर्ने भन्ने कुरामा । तर, अहिल्यै लिइहाल्ने भन्ने कुरा भएको छैन । बाहिर आएको कुरा साँचो होइन,’ नेता पोखरेलले भनेका छन् ।

यसअघि गत फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै माओवादी र एमाले ब्युँताइदिएको थियो । त्यसपछि पूर्ववत् अवस्थामै फर्किएका एमाले–माओवादीले अहिले छुट्टै दलको हैसियतमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रिया