इजरायली चुनावमा आफ्नो जित हुने प्रधानमन्त्रीको दाबी

जेरुसेलम । दुई वर्षभित्रको अवधिमा चौथो पटक भएको संसदको निर्वाचनमा आफ्नो जित हुने दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेका छन् ।

यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्‌मा बहुमत ल्याउन नेतान्याहू विफल हुनसक्ने देखाएको छ ।

इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा आसीन नेतान्याहूको कार्यकालमा सन् २०१९ पछि यो चौथो निर्वाचन हो । यो मतदानपछि उनलाई दक्षिणपन्थी गठबन्धनलाई एकताबद्ध गर्न सक्ने आशा गरिएको छ ।

संसद्‌मा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि दुई वर्षभित्रको अवधिमा चौथो पटक मंगलबार निर्वाचन सुरु भएको हो ।

इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसद्‌मा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।

लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निर्क्यौल गर्नेछ । इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गरेका छैनन् । उनीमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नुपर्ने भन्दै केही दिनअघि प्रदर्शन पनि भएका थिए । नेतान्याहुले मंगलबार ट्वीट गर्दै दक्षिणपन्थी र उनी नेतृत्वको लिकुडलाई ठूलो जित दिएकोमा इजरायली जनतालाई धन्यवाद दिएका छन् । अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी भएको उनको दाबी छ ।

‘धेरै इजरायलीहरू दक्षिणपन्थी रहेको र उनीहरू एउटा स्थायी र सशक्त दक्षिणपन्थी सरकार चाहन्छन् भन्ने स्पष्ट छ‚’ उनले भनेका छन् ।

निर्वाचनका लागि योग्यमध्ये जम्मा ६७/२५ ले मत खसालेका छन् भने यो चुनावलाई नेतान्याहू नेतृत्वको जनमतसङ्ग्रहका रूपमा हेरिएको छ ।

हालका दिनहरुमा ७१ वर्षीय प्रधानमन्त्री नेतान्याहू कोभिड–१९ को खोप अभियान कार्यक्रममा केन्द्रित थिए र उनको कूटनीतिक सफलता केही अरब मुलुकहरूसँगको सम्बन्ध सामान्य बनाउनेमा पनि रहेको छ ।

प्रतिक्रिया