‘सर्वोत्तम सिमेन्टले याे बेला यति लाभांश दिन्छौं भनेर तोक्न मिल्दैन’

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले धितोपत्र बजारमा लागु गरिएको बुक बिल्डिङ विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । नाफिजले पुँजीबजार विषयमा कलम चलाउँदै आएका दुई दर्जन पत्रकारमाझ बुक बिल्डिङ विषयको ज्ञानको दायरा विस्तार गर्ने उद्देश्यले बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीसँग छलफल गरेको हो ।
सो अवसरमा बोर्डका कार्यकारी निर्देशक गिरीले पत्रकारलाई बुक बिल्डिङको आवश्यकता, प्रक्रिया, नीतिगत व्यवस्थाबारे जानकारी गराए ।

सो अवसरमा नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक निरज गिरीले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मूल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै पूँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बिमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे ।

धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औसतभन्दा माथि अर्थात् औसतभन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नसक्ने जानकारी उनले दिए । उक्त विधिबाट आइपीओ निष्कासन गर्दा सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्कासन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मूल्य’ को १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।

पहिले अनिवार्य रुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समय अगाडि मात्रै चुक्ता पुँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ ।

यसैबीच, सर्वोत्तम सिमेन्टले आइपीओ जारी गरेको ३ महिनाभित्रै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गर्दै आएकामा नेपाल धितोपत्र बोर्डले आफूले यस्तो गतिविधि नियालीरहेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक गिरीले भने, ‘कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर यो समयमा यति लाभांश दिन्छौं भन्न मिल्दैन ।’ सर्वोत्तम सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘र्‍याडर’मा राखेको उनले बताए ।

 

प्रतिक्रिया