शाइन रेसुङ्गा बैंकद्वारा काठमाडौंमा एकैदिन ५ शाखा विस्तार

काठमाडौं । बुटवलमा प्रधान कार्यालय रहेको र प्रदेश ५ मा केन्द्रित भएर सेवा सञ्चालन गर्दै आएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले काठमाडौंमा एकैदिन ५ ओटा शाखा विस्तार गरेको छ ।

बैंकले न्युरोड, नयाँ बानेश्वर, कलंकी, गोंगबु र महाराजगञ्जमा नयाँ शाखा विस्तार गरेको हो । बैंकले आइतबार एक कार्यक्रमको आयोजना गरी ५ ओटै शाखाको शुभारम्भ गरेको छ ।

बैंकले एक वर्षअघि राष्ट्रियस्तरको विकास बैंकको मान्यता पाएको थियो । राष्ट्रियस्तरको विकास बैंक बनेपछि पहिलो पटक बैंकले काठमाडौंमा शाखा विस्तार गरेको हो । यीसहित हालसम्म बैंकका शाखा संख्या ८० पुगेका छन् ।

२०६५ सालमा रुपन्देहीबाट सञ्चालनमा आएको बैंकको चुक्ता पूँजी ३ अर्ब ४० करोड तथा पूँजीकोष ६ अर्ब नजिक रहेको जनाएको छ । बैंकका ४ लाख ग्राहक रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया