लगानी जुटाइ दिन ‘स्टार्टअप’ व्यवसायीसँग दरखास्त आह्वान गरिँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको स्टार्टअप एन्ड इन्नोभेशन समितिले नविन सोचमा आधारित ५० ओटा स्टार्टअप उद्योग/व्यवसायलाई लगानी जुटाइदिन दरखास्तको आह्वान गर्ने भएको छ । समितिले त्यस्ता उद्योग व्यवसाय छनोटका लागि चैत तेस्रो साताबाट दरखास्त खुला गर्ने सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

समितिले खोलेको आवेदन अवधिमा दरखास्त दिएका मध्येबाट उत्कृष्ट ५० स्टार्टअप उद्योग तथा व्यवसयको छनोट गरी इन्भेटर्स फोरममार्फत ती उद्योग व्यवसायमा साझेदारी पूर्ण तरिकारले लगानी जुटाइने समितिले जानकारी दिएको छ । तर, सञ्चालनमा आएको १ वर्ष पूरा भएको उद्योग व्यवसाय मात्रै उक्त आवेदन दिन योग्य हुने समितिले जनाएको छ ।

छनोट भएका व्यवसायलाई लगानीकर्तामाझ लैजान ३ महिनाको मेन्टरशीप(उद्यमशीलतासम्बन्धी तालिम तथा परामर्श) कार्यक्रममा समावेश गराइने जनाएको छ । यस कार्यक्रमका लागि समितिले २० जना मेन्टरको व्यवस्था गर्ने जनाएको छ । यसअन्तर्गत अंग्रेजी महिनाको पहिलो शुक्रबार सफल व्यवसायीसँग छलफल गर्ने जनाएको छ । यस कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आइएलओ, इसीमोड, काठमाडौं महानगरपालिका, काठमाडौं विश्वविद्यालय, अन्तरप्रेरणा र जिल्लास्थित उद्योग वाणिज्य संघहरुले सघाउने समितिले जनाएको छ ।

यसकार्यक्रममार्फत नेपालमा स्टार्टअप विजनेशका लागि रहेको कार्यगत तथा नीतिगत अवरोध हटाउने, व्यवसायलाई सहज बनाउने उद्देश्य रहेको छ । त्यस्तै, विश्व स्टार्टअप सूचकांकमा नेपाल १२६ देशमध्ये १ सय ९ औं स्थानमा रहेकोले स्टार्टअपलाई विकास र विस्तार गर्नु आवश्यक रहेको समेत देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएकोले यो कार्यक्रमले उक्त लक्ष्य पूरा गर्न सघाउने संघले जनाएको छ ।

प्रतिक्रिया