एफए कपः सेमिफाइनलमा लेस्टर र साउथह्याम्पटन, सिटी र चेल्सी खेल्ने

काठमाडौं । एफए कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार राति भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेड र चेल्सीले शेफिल्ड युनाइटेडलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
सेमिफाइनलमा अब लेस्टर सिटीले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीले चेल्सीसँग खेल्नेछ । दुबै सेमिफाइनल खेल अप्रिल १७ मा हुनेछ । सेमिफाइनलमा प्रवेश गर्ने क्रममा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । लेस्टरको जितमा केलेची हेनाचोले खेलको २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
३८ औं मिनेटमा मासोनले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई १-१ गोलको बराबरी दिलाएपनि दोस्रो हाफमा थप दुई गोल खाँदै हारेको हो। खेलको ५२ औं मिनेटमा यउरी टिलेमन्सले गोल गर्दै लेस्टरलाई २-१ गोलको अग्रता दिलाए । ७८ औं मिनेटमा हेनाचोले गोल गर्दै लेस्टरलाई ३-१ गोलको जित दिलाए ।
त्यस्तै, अर्को खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । चेल्सीको जितमा हाकिम जियचले एक गोल गरे । एक गोल भने चेल्सीले उपाहार स्वरुप पाएको थियो । खेलको २४ औं मिनेटमा शेफिल्डका ओलिभर नोर्वोडले आत्मघाति गोल गरेपछि चेल्सीले १-० गोलको अग्रता बनायो । खेलको अन्तिम समयमा जियचले गोल गरेपछि चेल्सीले २-० गोलको जित निकाल्यो ।








