मनाङमा दुर्घटना: मृत्यु हुनेको संख्या ६ पुग्यो [अपडेट]

लमजुङ । लमजुङ बेँसीशहर-चोम सडकअन्तर्गत नासो गाउँपालिका-३ खोत्रोमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध १ ख ५९२ नंको ट्रक शनिबार सडकबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार ट्रक टुर्घटना हुँदा ३ को घटनास्थलमै मृत्यु भएको हो भने ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका-४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मनाङस्थित चामे गाउँपालिका-४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका-५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका-८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनको भनाइ छ । उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो-१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका-३ का २४ वर्षीय सुमन तामाङ र नासो-३ धारापानीका ७ वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताए । प्रहरीका अनुसार सो ट्रकमा ८ जना सवार थिए । –रासस

प्रतिक्रिया