८ महिनाकाे व्यापार: आयात साढे ९ खर्ब, निर्यात ८१ अर्ब

  • पुष्प कोइराला

काठमाडौं । नेपालको व्यापार घाटा डरलाग्दो रुपमा चुलिँदै गएको छ । अघिल्लो आर्थिक वर्ष (२०७६/७७) को अन्तिम त्रैमास र चालू वर्ष (२०७७/७८) को पहिलो चौमासमा कम भएको व्यापार घाटा फेरि चुलिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्ममा नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । तर, यही अवधिमा नेपालबाट ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको वस्तु तथा सेवा मात्र निर्यात भएको छ ।

यो गत आर्थिक वर्षको शुरुका ८ महिनाको तुलनामा १३ अर्ब ८७ करोड ४७ लाख रुपैयाँले बढेको हो । यो अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ४९ अर्ब ३३ करोड ४६ लाख ८९ हजार रुपैयाँ थियो ।

गत आर्थिक वर्षको ८ महिनाभन्दा यो आर्थिक बर्षको ८ महिनामा नेपालको कुल आयात १९ अर्ब ७४ करोड ५६ लाख २५ हजार रुपैयाँले बढी हो । गत वर्ष ९ खर्ब २४ अर्ब ३६ करोड २५ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । त्यस्तै, गत वर्षको तुलनामा यो वर्ष नेपालबाट ५ अर्ब ८७ करोड ९ लाख १५ हजार रुपैयाँ बढीको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्ष ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार रुपैयाँको निर्यात भएको थियो ।

व्यापार घाटामा पेट्रोलियमको हिस्सा १ खर्ब २१ अर्ब
नेपालको व्यापार घाटा बढी देखिनुमा पेट्रोलियमको आयात प्रमुख कारण देखिएको छ । पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास (एलपीजी) जस्ता पदार्थको आयात सबैभन्दा बढी छ । यी वस्तुको आयात ८ महिनामा १ खर्ब २१ अर्ब ६१ करोड ७९ लाख ६८ हजार रुपैयाँको भएको छ । उत्पादन नहुने भएकोले पेट्रोलियमको निर्यात नेपालबाट हुनै सक्दैन ।

गत आर्थिक वर्षका ८ महिनामा १ खर्ब ४९ अर्ब ८२ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालू आर्थिक वर्षमा भने पहिलो कोभिड प्रभावका कारण भएको लकडाउनले गर्दा पेट्रोलियम आयात घटेको हो ।

त्यस्तै गएका ८ महिनामा १ खर्ब ८ अर्बको आइरन तथा स्टिलजन्य उत्पादन, ६३ अर्बको सवारी साधन, २१ अर्बको बहुमूल्य रत्न तथा पत्थर, ७३ अर्बको मेरिनरी सामान, ७१ अर्बको विद्युतीय मेसिनरी सामान, २५ अर्बको तरकारी तथा तरकारीजन्य वस्तु, फलफूलजन्य वस्तु, गेडागुडी तथा तेलजन्य फल, ४२ अर्बको खाने तेल, वनस्पती घ्यु तथा तेलजन्य पदार्थ आयत भएको छ ।

१९ अर्बको औषधि, १५ अर्बको मल, ३६ अर्बको प्लाष्टिक, १० अर्बको रबर, १४ अर्बको कपडाजन्य उत्पादनलगायत वस्तु आयात भएको छ ।

भारतबाट सवा ६ खर्बको आयात हुँदा चीनबाट डेढ खर्बको मात्र
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । भारतबाट चालू आर्थिक वर्षको ८ महिनामा ६ खर्ब २२ अर्ब ३० करोड २७ लाख ५५ हजारको वस्तु तथा सेवा आयात भएको छ ।

नेपालबाट भारतमा ५८ अर्ब १९ करोड ४७ लाख २५ हजार रुपैयाँको मात्र निर्यात भएको छ । त्यस्तै चीनबाट १ खर्ब ३६ अर्ब १९ करोड ५५ लाख ४० हजार रुपैयाँको आयात भएको छ । नेपालबाट चीनमा भने ६१ करोड ३० लाख ४४ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

यो तथ्यांकले नेपालको व्यापार घाटा भारत र चीनसँग बढी भएको देखाउँछ । दुई छिमेकी देशमध्ये पनि नेपाल व्यापारमा भारतसँग मात्रै निर्भर रहेको देखाउँछ ।

सन्तुलित व्यापारका लागि नेपालले चीनसँग पनि व्यापारिक नाकाहरुको विकास र विस्तार गरेर आयात तथा निर्यात दुवै व्यापार बढाउनु पर्ने आवश्यकता देखिएको छ । नत्र २०७२ र त्यसअघि पनि भारतले गरेको जस्तै नाकाबन्दी फेरि गरे त्यही हाहाकार दोहोरिने खतरा उस्तै छ ।

प्रतिक्रिया