कडा बन्दै शिक्षा विकास समन्वय इकाइ, अवकाश लिँदा करार नियुक्ति प्रक्रिया अनिवार्य

विराटनगर । शिक्षा विकास तथा समन्वय इकाइ मोरङले जिल्लाभित्रका सबै स्थानीय तह र सबै सामुदायिक विद्यालयलाई करार शिक्षक नियुक्त गर्न निर्देशन दिएको छ ।

शिक्षकको अनिवार्य अवकाश र करारमा नयाँ शिक्षक नियुक्तिबीचको अवधि धेरै लामो हुन गई विद्यार्थीको शिक्षण सिकाइमा असर परिरहेको अवस्थालाई मध्यनजर गरी करार शिक्षक नियुक्त गर्न निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख टंक गौतमले जानकारी दिए ।

सम्बन्धित विद्यालयहरूले अवकाश हुन कम्तिमा एक महिनाअघि देखि नै करार शिक्षक नियुक्ति प्रकृया सुरु गरी शिक्षकको अवकाश र करारमा नयाँ नियुक्ति एकैसाथ हुनेगरी व्यवस्था मिलाउन सबै स्थानीय तह र सबै सामुदायिक विद्यालयलाई आग्रह गरिएको प्रमुख गौतमले बताए ।

एउटै पालिकामा ३० जनासम्मको शिक्षकको दरबन्दी रिक्त रहेको अवस्थामा नयाँ शिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउन भनिएको प्रमुख गौतमको भनाइ छ । ‘धेरै पालिकाहरुमा शिक्षकको दरबन्दी खाली छ,’ उनले भने, ‘यसरी लामो समयसम्म शिक्षकको दरबन्दी खाली राखेर विद्यार्थीको भविष्य अन्यौलमा पार्नु हुँदैन भनेर सबै पालिकालाई परिपत्र गरिएको हो ।’

शिक्षककै कारण देखाएर एक घण्टी पनि खाली हुनु नहुने उनको भनाइ छ । हिजो केन्द्रीय सरकारले गर्न नसकेको अवस्थामा स्थानीय तहले यसलाई तत्काल गर्न सक्ने भएकाले समस्याको समाधान हुनेगरी शिक्षक नियुक्त गर्न भनिएको गौतमले बताए ।

जिल्ला अन्तरको सरुवाका लागि फाइल बोकेर हिँड्ने विद्यालय व्यवस्थापन समितिले नयाँ शिक्षक नियुक्तिमा ध्यान दिने हो भने योग्य शिक्षक विद्यालयमा आउनेछन् । पालिकाले विज्ञापन गरेर अवकाश शिक्षकको ठाउँमा गुणस्तरका शिक्षक ल्याउने हो भने विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन सक्छन् ।

मोलमोलाइ हुने, सरुवाका लागि ठूला मान्छे लगाउने, शिक्षाप्रति संवेदनशील नहुने हुँदा यसलाई रोक्नका लागि कुनै शिक्षक अवकाश हुँदैछन् भने एक महिनाअघि देखि नै नयाँ शिक्षक करारमा राख्ने प्रक्रिया थाल्दा विद्यार्थीको पढाइमा असर नपर्ने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

प्रतिक्रिया