घुम्दै खान तथा रमाइलो गर्न मिल्ने ‘अमिगो फुड ट्रक’

काठमाडौँ । सुदिप घिमिरे र गणेश कार्की मिलेर गाडी भित्र रेस्टुरेन्ट सञ्चालनको तयारी गरेका छन् । ‘अमिगो फुड ट्रक’ नाम दिएको यो रेस्टुरेन्ट बसमा सेट गरिएको छ भने गाडी झैँ एक स्थानबाट अर्को स्थानमा लैजाने सुविधा समेत छ ।

बस भित्र नै भान्सा घर, धारा, टेबल र रात बिताउने समेत व्यवस्था छ । सुविधा सम्पन्न रेस्टुरेन्टमा झैँ यसमा रुफ टपको समेत व्यवस्था छ । गाडीको छतलाई व्यवस्थित बनाएर रुफ टप निर्माण गरिएको छ । रुफटप जानका लागि भेन्टिलेटरबाट भर्यांगको व्यवस्था गरिएको छ । गाडी गुड्ने समयमा भने रुफटप फोल्ड गरिने सञ्चालकले बताए । बस्नका लागि बसका सिट झिकेर सुविधा सम्पन्न कुर्सीको व्यवस्था गरिएको छ ।

नाइट आउटका लागि समेत यो बस प्रयोग गरीने भएकाले २० जना सम्म सुत्न मिल्ने गरि व्यवस्थापन गरिएको छ । रातको तथा जङ्गलमा जानुपर्ने सम्भाव्यतालाई ध्यानमा राख्दै उनीहरू सोलार जोड्दै छन् । उत्सव हेरेर झिलिमिली बत्तीको व्यवस्थापन समेत भैसकेको छ । जन्मदिन, भेटघाट, पिकनिक लगायत सानो सङ्ख्यामा गरिने कार्यक्रमका लागि सहर भन्दा केही पर पुगेर आनन्द लिन यो रेस्टुरेन्ट उपयोगी हुन्छ ।

घिमिरे र कार्कीले विदेशमा काम गर्दा देखेको फुड ट्रकको कन्सेप्टमा केही परिवर्तन गरेर नेपालमा सञ्चालन गर्न लागेका हुन् । यस अघि नेपालमा पुरानो सवारीलाई रेस्टुरेन्टको रूपमा विकास गरेर सञ्चालन गरेको भए पनि गुड्ने रेस्टुरेन्ट सम्भवतः पहिलो पटक सञ्चालनमा आएको हो ।

खानाका लागि सञ्चालक दुवै कुक भएकोले सुरुवाती चरणमा आफै सर्भ गर्ने उनीहरूको तयारी छ । ड्राइभिङ सिक्दै गरेका यी दुईले हाललाई भने एक ड्राइभर राखेका छन् । बाहिर जाने भन्न साथ जो कोहीलाई पनि व्यवस्थापनमा समस्या आउँछ । सोही सम्भाव्य समस्यालाई सम्बोधन गर्दै एक समाधानको रूपमा उनीहरूले यो रेस्टुरेन्ट सञ्चालन गर्न लागेका हुन् ।

आवश्यक पानी बसमा नै स्टोर गरिएको हुन्छ भने फोहर पानी जम्मा हुने ट्याङ्कीको समेत व्यवस्था गरिएको छ । रेस्टुरेन्टको अन्य फोहर व्यवस्थापनका लागि सञ्चालकले नगरपालिकाबाट फोहर व्यवस्थापनको सदस्यता लिएका छन् ।

थन्किएर रहेको बसलाई किनेर, मर्मत गरेर उनीहरूले रेस्टुरेन्टको रूप दिएका हुन् । दस लाखमा किनेको पुरानो बस लिएका संचालकले सम्पूर्ण तयारी सकिदा सम्म २५लाख लगानी लाग्ने अनुमान उनीहरूले गरेका छन् ।

उनीहरूको योजना आइतबारबाट बिहीबार सम्म बज्र वाराहीमा तथा शुक्रवार र शनिवार गोदावरीमा सेवा दिने रहेको छ । प्यानमा दर्ता गरेर उनीहरूले रेस्टुरेन्टको काम अगाडी बढाएका छन् ।

प्रतिक्रिया