कांग्रेस नेता जोशीको अवस्था स्थिर र जोखिमपूर्ण

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वउद्योग मन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि जटिल बनेको अस्पतालले जनाएको छ । १० दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको स्वास्थ्य अवस्थामा बिचमा केही सुधार देखिएपनि अहिले फेरि जटिल बनेको अस्पतालले जनाएको हो ।

मस्तिष्कघात भएपछि जोशीलाई फागुन १४ गते राति नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

शनिबारदेखि जोशीको मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ । मङ्गलबार उनको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

अहिले जोशीको रक्तचाप सामान्य रहेको तथा प्रतिमिनेट आठ/दश पटक आफैँले सास फेरिरहेको पनि डा. झाले जानकारी दिए ।

जोशीलाई मस्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको र यस्ता बिरामीको उपचारमा फेरि समस्या आउने सम्भावना धेरै नै हुने डा. झाको भनाइ छ ।

गएको शनिबारदेखि अवस्था जटिल देखिएका जोशीलाई भेन्टिलेटरको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया