दुवै मुद्दा हारियो, तर खुसी छौं : पर्यटनमन्त्री ढकाल

विराटनगर । पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा दुवै मुद्दामा हारेको बताएका छन् । विराटनगरमा नेकपा (एमाले) पार्टी कार्यालयको बोर्ड राख्नका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापित भएपछि र नेकपाको आधिकारिकता नभएको कारण पहिलाकै अवस्थामा फर्किनुपर्ने अवस्थाका कारण दुवै मुद्दामा पार्टीले हारेको बताएका हुन् ।

उनले दुवै नेताको जन्मदिनको सन्दर्भ उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा संसद पुनःस्थापना गर्ने सर्वोच्चले गरेको फैसला र माधव नेपालको जन्मदिनमा नेकपा पार्टी नै खारेज भएको अर्को फैसलाबाट आफूहरुले हारेको बताए ।

अदालतले हराउँदा पनि आफू पहिला पनि र अहिले पनि पार्टी एकताको पक्षमा नै रहेको मन्त्री ढकालले बताए ।

‘सर्वोच्चको आदेशले कामविहीन भएका पार्टी कार्यकर्तालाई लयमा ल्याउने काम गरेकोमा कार्यकर्ता खुसी भएको मैले ठानेको छु,’ ढकालले भने, ‘पहिलाको अवस्थामा फर्काइएको अवस्थामा केही सकारात्मकसहित केही अप्ठराहरू पनि रहेका छन् ।’

ढकालले पार्टी पहिलाको अवस्थामा पुगेको भएपनि यसलाई मुख्यरुपमा ३ वटा उपलब्धीको रुपमा लिएका छन् । उनले नेकपा एमालेका पार्टी कार्यालयहरु कब्जा गर्ने काम भएको अवस्थामा सर्वोच्चको फैसलापछि गिद्दे दृष्टिबाट सबै सम्पति सुरक्षित भएकोमा खुसी व्यक्त गरे ।

उनले दोश्रो समस्या सूर्य चिह्नको रहेको भएपनि त्यो पनि समाधान भएको सुनाए ।  ‘विभिन्न बहानामा पूर्वएमालेको नाममा रहेको सम्पति कब्जा गर्ने काम शुरु भएको थियो,’ उनले भने, ‘अब भयरहित रूपमा अघि बढ्न सकिनेछ ।’ उनले दुई पार्टी सँगै जानुपर्नेमा पहिलाकै अवस्थामा पुर्‍याएको आफू पनि खुसी नभएको र पार्टी एकताको पक्षमा रहेको सुनाए । मन्त्री ढकालले पार्टी एकताको निर्णयलाई हतारमा भएको निर्णयको रुपमा औँल्याएका छन् ।

‘पहिलो काम हामी विश्वासको मत लिन्छौँ,’ उनले भने, ‘सहकार्यप्रति पनि हामी सकारात्मक छौँ ।’ नेकपा माओवादीले समर्थन फिर्ता लिँदा सरकारले विश्वासको मत प्राप्त गर्नुपर्ने भएकाले विश्वास प्राप्त गर्न नसक्दा अन्य पार्टीसँग सहकार्यमा जाने ढकालले बताए ।

प्रतिक्रिया