जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायक महिला सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले विभिन्न क्षेत्रका प्रेरणदायी महिलालाई सम्मान गरेको छ । क्लबले फागुन २२ गते महिलाको योगदान र उपलब्धीलाई सम्मान गर्न ‘येलो रोज डे’ कार्यक्रमको आयोजना गरी यस्तो सम्मान गरेको हो ।

कार्यक्रममा प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयरको उपाधिबाट एसएसपी किरण बज्राचार्यलाई सम्मान गरिएको छ । उनले मानव र महिला तस्करीका विरुद्ध निरन्त संघर्ष गर्दै आएकी छन् ।

त्यस्तै अमर राना गेम चेन्जर अवार्डबाट ब्लाइन्ड रक्स्की संस्थापक सृष्टी केसीलाई सम्मान गरिएको छ । कोभिड हिरोहरुका लागि रत्नदेवी अवार्डबाट डब्लुएचआरकी प्रतिनिधि लिल्ली थापा सम्मानित भएकी छन् । डब्लुएचआरको वुमन फर ह्युमन राइटअन्तर्गत एकल महिला समुहले कोभिडको समयमा थुप्रै स्वयमसेवा गरेकी थिइन् । यसै अवार्डबाट आयुषमा राणा याकथुम्बा सम्मानित भएकी छन् । उनले कोभिडको समयमा थुप्रै परिवारहरुलाई, विशेष गरी नवजात शिशू र नवआमाहरुलाई खाना, औषधी जस्ता आधारभूत आवश्यकताहरु प्रदान गरेकी थिइन् ।

त्यस्तै, ज्योति स्कलरशिप अवार्डबाट जेनएम क्लाउसम्यान सुप्रिमा पौडेल सम्मानित भएकी छन् । उनले ‘इम्प्यक्ट अफ क्रेडिट रिस्क अन पर्फमेन्श अफ ए एण्ड बी क्लास इन्स्टीट्यूशन’ शीर्षकको थेसिस जर्नल अफ नेपाल–एनआरबी इकोनोमिक रिभ्यूमा प्रकाशन गरेकी छिन् ।

उमन इन टेक विधामा ज्योति स्कलरशिपबाट मेलिशा घिमिरे सम्मानित भएकी छन् । उनी गल्स इन टेक नेपालकी प्रबन्ध निर्देशक तथा उमन इन बिग डाटा एसईए रिजनकी प्रोग्राम म्यानेजर हुन् ।

इन्द्रकला स्कलरशिप अवार्डबाट वाईडब्लूपीए संस्कृती फुयाल सम्मानित भएकी छन् । उनी ‘स्पोटर्स् इन इक्वालीटी’ भन्ने लक्ष्यमा कार्यरत छिन् र विद्यालयमा छात्राहरुका लागि खेलकुद आयोजना गर्छिन् ।

उमन इन स्पेशअन्तर्गत रेजा थापा सम्मानित भएकी छन् । उनले अल नेपाल एस्टेरोइड सर्च क्याम्पेनमा सन् २०१९–२०२० को दौरान प्रमुख बेल्ट एस्टेरोइड पत्ता लगाएकी थिइन् ।

त्यस्तै छाउपडीविरुद्ध अभियान चलाउने १५ वर्षीया बालिका सकुन्तला कुमारी बुधा, नेपालकी पहिलो प्लम्बर सुमित्रा श्रेष्ठ, असनको अन्नपूर्ण मन्दिरकी पहिलो महिला पुजारी सहनशीला शर्मा, काउन्टर इन्सर्जरी एण्ड जंगल वारफेयर ट्रेनिङ पूरा गर्ने पहिलो महिला सैनिक राधिका थापा सम्मानित भएका छन् ।

उक्त अवार्ड समारोह नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, टोनी एण्ड गाइर गोल्छा ग्रुपको सहयोगमा सोल्टी होटल काठमाडौंमा आयोजना गरिएको थियो ।

त्यस्तै नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शीर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ महिलालाई ३५ हजार रुपैयाँका दरले नगद पुरस्कार समेत दिएको छ ।
सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकको एक अग्रणी ग्लोबल संस्था हो । यो संस्था सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ ।

 

प्रतिक्रिया