१५ सय छात्रालाई साइकल वितरण [फोटो फिचर]

जनकपुर । प्रदेश २ सरकारले १५ सय २० जना छात्रालाई साइकल प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत धनुषाका २७ विद्यालयका ८ कक्षाका १५ सय २० छात्रालाई साइकल प्रदान गरेका हुन् ।

साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशका सम्पूर्ण सामुदायिक विद्यालयमा ८ कक्षाका सबै छात्रालाई साइकल उपलब्ध गराउने तयारी गरेको बताए । ‘साइकलले मात्रै महिला सशक्त हुने होइन,’ मुख्यमन्त्री राउतले भने,‘साइकल वितरणले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । प्रदेशका छोरीहरुलाई शिक्षित सबल बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अगाडी बढाएको बताउँदै मुख्यमन्त्री राउतले महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीतिविरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने बताए ।

कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई प्रदेश सरकारले सम्मान गरिएको छ । प्रदेश सरकारले आर्थिक बर्ष २०७५/०७६ मा प्रदेशका १४ हजार छात्रालाई साइकल वितरण गरेको थियो । यसवर्ष पनि कक्षा ८ मा अध्ययनरत प्रदेशभरिका २० हजार छात्रालाई साइकल वितरण गर्ने तयारी रहेको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया