स्याटेलाइट स्थापना परामर्शका लागि ५ कम्पनी छनोट

काठमाडौं । नेपालले आफ्नै स्याटेलाइट राख्न आवश्यक परामर्शका लागि ५ ओटा अन्तर्राष्ट्रिय कम्पनी संक्षिप्त सूची (सर्ट लिष्ट) मा छनोट भएका छन् । स्याटेलाइट सञ्चालनको यसको सञ्चालन तथा सुरक्षाको नीति निर्माण, व्यापार मोडालिटी, सञ्चालन मोडालिटी तयार गर्ने कार्यका लागि परामर्श सेवा दिन इन्च्छुक कम्पनीहरुबाट आशयपत्र माग गरेको थियो ।

१ पुसदेखि २७ पुससम्मको समय दिएर आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी ९ कम्पनी मध्ये ५ ओटा कम्पनी छनोट सूचीमा परेका हुन् ।

छनोटमा परेका कम्पनीहरुमा फ्रान्सेली कम्पनी युरो कन्सल्ट, बेलायती कम्पनी इकानोमिक्स लिमिटेड र केआईएसपीई टिमको संयुक्त उपक्रम, अमेरिकी कम्पनी स्पेस पार्टनरसिप इन्टरनेशनल, दुबईको एसथ्री टेल इंक र भारतको केपीएमजी असुर्यानसिटी एन्ड कन्सल्टिङ सर्भिस रहेको नेपाल दूर सञ्चार प्राधिकरणले सूचना जारी गरेर जनाएको छ ।

नेपालको भू–उपग्रह नीति २०७७ अनुसार २०२२ भित्र नेपालले आफ्नै भू–उपग्रह स्थापना गरी सेवा उपलब्ध गराउने लक्ष्य छ । उक्त नीतिले लिएको लक्ष्य पूरा गर्न पनि सरकारले नयाँ स्याटेलाइन स्थापनाको प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणले २०७३ असोजमा माग गरेको आशयपत्रका लागि विभन्नि देशका २० ओटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । तर, हालसम्म स्यालेटाइट स्थापनाका नयाँ प्रविधि आइसकेकोले सो अनुसार स्थापनाका लागि नयाँ बोलपत्र आह्वान गरेको प्राधिकरणले जनाएको छ ।

स्याटेलाइन स्थापनामा त्यतिबेला नै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको थियो ।

प्रतिक्रिया