ऋणपत्र निष्काशन गर्दै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागिएको बैंकले जनाएको छ ।

प्रतिएकाई एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ । कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरमा र बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरिनेछ । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

ऋणपत्रमा २५ देखि १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते बन्द हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत १६ गतेसम्म रहनेछ ।

ऋणपत्रको अवधि १० वर्षको रहेको छ । बैंकले वार्षिक ८.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिकपश्चात् ब्याज दिइने जनाएको छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड छ । ऋणपत्रका लागि धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बाका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया