कोरोनाको थप साढे ३ लाख डोज खोप आज आइपुग्दै

काठमाडौँ । कोभ्याक्सअन्तर्गत नेपालले पाएको झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आउन लागेको हो ।

यो भ्याक्सिन नेपालले अनुदानमा पाएको हो । सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।

यस्तै भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने सचिव अर्यालले बताए । उनले आजबाट शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए । करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने उनको भनाइ छ ।

उनले असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको समेत जनाए । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया