ज्योति लाइफको शेयर खुल्यो, १० कित्तामात्र भर्नु ठीक

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज (फागुन २१ गते शुक्रबार)देखि निष्काशन भएको छ । यसमा सर्वसाधारण नागरिकले आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेपनि सर्वसाधारणले ५९ लाख ४० हजार कित्तामा मात्र आवेदन गर्न सक्नेछन् ।

किनभने ६६ लाख कित्ताको ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता ज्योती लाईफ इन्स्योरेन्सका कर्मचारीलाई र त्यति नै कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरीएको छ । कम्पनीको आइपीओमा फागुन २६ गते बुधबारसम्म आवेदन दिन सकिनेछ ।

त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिने ब्यवस्था भएपनि फागुन २६ भित्रमै आवेदन पर्याप्त पर्ने अनुमान गरिएको निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने भएपनि १० कित्ता नै आवेदन दिनु उपयुक्त हुने देखिएको छ ।

किनभने, पछिल्लो समय आइपीओमा १५ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिन थालिसकेका छन् । जम्मा ५९ लाख ४० हजार कित्तामा मात्र आवेदन दिन पाइने भएकाले १० कित्ता मात्र आवेदन दिँदा पनि सबैले शेयर पाउने छैनन् । यसका लागि गोलाप्रथा गर्नुपर्ने हुन्छ । १० कित्ताका दरले पनि ५ लाख ९४ हजार जनाले मात्र शेयर पाउनेछन् ।

आईपीओ निष्काशन पछि ज्योती लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया