मलेसियाका नेपालीले निःशुल्क उपचारदेखि आजीवन भत्तासम्मको सामाजिक सुरक्षा पाउने

काठमाडौं । नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सोस्को)बीच नेपाली कामदारको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धनसम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ र सोस्कोका प्रमुख कार्यकारी अधिकृत डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेको मलेसियास्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत् जनाएकाे छ ।

नेपाली राजदूतावास क्वालालम्पुरको सक्रियतामा समझदारीपत्रको मस्यौदामाथि विभिन्न चरणमा छलफल भएपछि तयार भएको अन्तिम मस्यौदालाई नेपाल सरकार, मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौं र क्वालालम्पुर दुवै स्थानमा उक्त पत्र आदानप्रदान गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । यस संस्थामा आवद्ध हुनका लागि रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्छ ।

हालसम्म ३ लाख नेपाली मलेसियाको सामाजिक सुरक्षा संस्थामा दर्ता

सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्दा मलेसियाको उक्त सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहिआएकोमा हालसम्म करीब ३ लाख नेपाली श्रमिक यसमा आवद्ध भइसकेका छन् । विगतमा ‘फरेन वर्कर्स कम्पन्सेसन स्किम’मा आवद्ध भएका श्रमिकको हकमा १ जनवरी २०२० सम्ममा सोक्सोमा दर्ता गराउनुपर्ने नियम थियो । तर १ जनवरी २०२० पश्चात् भने सबै रोजगारदाताले अनिवार्य रुपमा सोक्सोमा आवद्ध गराउनुपर्ने व्यवस्था छ । यसैअनुसार हालसम्म ४ लाखभन्दा बढी रोजगारदाता र ७० लाखभन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक सोक्सोमा आवद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालयहरु रहेका छन् ।

सोक्सोमा आवद्ध नेपाली श्रमिकले के के पाउँछन् लाभ ?

सोक्सोमा आवद्ध भएका विदेशी श्रमिकले इम्प्लोइमेन्ट इन्जुरी स्किम फर फरेन वर्कर नामको योजनामा सामेल हुन पाउँछन् । यस योजनाअन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा सोबापत तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ । यस योजनाबमोजिम प्राप्त हुने लाभहरुलाई स्वास्थ्य लाभ, अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ, आश्रित लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च र पुनःस्थापना सुविधा गरी वर्गीकरण गरिएको छ । उक्त लाभ कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभ लिन सोक्सोले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको छ ।

कसरी र के के पाइन्छ लाभ ?

कार्यस्थलमा हुने दुर्घटनाहरूको लागि रोजगारदाताले पन्च कार्डहरू वा उपस्थिति रेकर्डहरू, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपिसहित दुर्घटना रिपोर्ट फारम भरेर सोक्सो कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । यदि दुर्घटना काममा आउँदा वा कामबाट फर्कंदा भएको छ भने यी कागजातका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्सा समेत सामेल गरेको हुनुपर्दछ। कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा-आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगबाट पीडित भएका श्रमिकका लागि सोक्सोसँग आवद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा पाइन्छ । पूर्ण रुपमा अक्षमता भएका वा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरु तोकिएको मेडिकल बोर्डको सिफारिसका आधारमा निरन्तर उपस्थिति भत्ताको हकदार हुने व्यवस्था गरिएको छ ।

यसैगरी मृत्यु भएका श्रमिकको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाह संस्कार गर्दा तोकिएबमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइनेछ । अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने सुविधाहरु हुन् ।

कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आयआर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ । अस्थायी रुपमा काम गर्न असक्षम भएकाहरुले भने आयआर्जन तोकिएका शर्तका अधीनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्दछन् ।

आश्रित लाभअन्तर्गत कुनै श्रमिकको तोकिएबमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विदुरले निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम आजीवन प्राप्त गर्न सक्ने व्यवस्था छ । मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था छ । यदि श्रीमान वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाइ वा हजुरबा हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम प्राप्त गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

यस समझदारीपछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सुरक्षाबापतका लाभहरुको प्रवाह, विचारको आदानप्रदान तथा श्रमिक तथा सरोकारवालाको सचेतीकरणका मुद्दामा दुवै देशबीच सहकार्यको अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया