७ रुपैयाँका ज्यामी, बने ७ उद्योगका मालिक

  • सुमन सुस्केरा

विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे आजभन्दा करिब ३५ वर्ष पहिला ज्यामी काम गर्थे । अहिले उनी सातवटा उद्योग आफ्नै नाममा दर्ता गरेर चलेका उद्योगीमा स्थापित छन् ।

परिवारमा गरिबीको कुनै सीमा थिएन । एकदिन यस्तो आयो, भीमलाई अमेरिकाको डिभी पर्यो । अमेरिका पनि गए तर, आफूलाई परेको डिभी नै त्यागेर उनी नेपाल फर्किए । आर्थिक अभावको जर्जरताबाट अगाडि बढेको भीमको परिवारसँग जग्गा थिएन । बुवाआमा र आठ दाजुभाई तथा दिदीबहिनी मध्येका एक उनी २०२३ सालमा खोटाङको चुईचुङमा जन्मिएका हुन् ।

यो ठूलो परिवारसँग अरुको जग्गामा खेती गरेर बटैया कमाउने बाहेक गुजाराको उपाय थिएन । गरिबीका बिचमा आफ्ना छोराछोरीलाई केही पढाउँला या ठूलो बनाउँला भनेर उनको बुबाआमा खोटाङबाट सुनसरी जिल्लाको चक्रघट्टी झरेका हुन् । उनी जन्मेको ५ महिनाको हुँदा बुबाआमाले उनलाई च्यापेर सबै तराई झरेका हुन् ।

एसएलसीपछि सुरु भएको ज्यामीकाम
२०४० सालमा उनले एसएलसी दिए । आर्थिक अबस्था कमजोर भएका उनको लागि एसएलसीपछि कसरी हुन्छ धेरथोर पैसा कमाउनु पर्छ भन्ने थियो । उनी एसएलसीको अन्तिम परिक्षा दिएर त्यही दिन कामको खोजीमा निस्किए । त्यो बेला चतरामा सिँचाईको नहर निर्माणको काम शुरु भएको थियो । चिनियाँ कम्पनीले ठेक्कामा लिएको सडक तथा नहरको काम भईरहेको ठाउँमा उनी परीक्षा सिध्याएर त्यहीँ पुगे ।

त्यसबेला चिनियाँ कम्पनीले त्यहाँ काम गरिरहेको थियो । उनी त्यहाँ काम गर्न जाँदा उनीसहितका साथीहरु कामको खोजीमा पुगे । कामको खोजीमा गएका सबैले काम गरेनन् तर भीमलाई कामको आवश्यकता थियो काम गर्न थाले । भीम भन्छन्, ‘साथीहरुसँग काम गर्न गएको म ज्यामी भएँ साथीहरु फर्किए, यो बेला मलाई मेहनत भन्दापनि पैसाको खाँचो थियो ।’ कामको सिलसिलामा इमान्दारीका साथ खन्ने, भारी बोक्ने, सिमेन्टका बोरा बोक्ने काम गरेको उनी सुनाउँछन् ।

उनले पाएको मौका
७ रुपैयाँबाट दैनिक ज्यामीको काम गर्न थालेका भीमले काम गरेको केही दिनमा उनलाई सुपरभाईजरको जिम्मेवारी दिईयो । उनले यो जिम्मेवारी आफूले काम गर्न थालेको सातै दिनमा प्राप्त गरेको बताए । उनी आफू सुपरभाईजर भएरपनि काममा कुनै कन्जुस्याईँ गरेनन् ।

उनले सुपरभाइजरका रुपमा २० जनाको हाजिरी राख्नुपर्ने हुन्थ्यो त्यो जिम्मेवारी दिईयो । चिनियाँ ठेकेदारहरुको मन काम गरेर भीमले जित्दै गए । उनले यो कामलाई पनि निरन्तरता दिँदै गए र उनलाई बेला बेला बिभिन्न अवसरहरु आउँदै गए ।

तीन महिनापछि उनलाई एउटा यस्तो प्रस्ताव आयो, ‘चिनियाँ भाषा सिक्ने ।’ उनले पनि नकार्न सकेनन् । ‘चिनियाँ भाषा सिक्ने चारजना थिए, उनी भन्छन् ‘चिनियाँ भाषा सिक्नेमा पनि मलाई भेट्टाउन चारैजनाले सक्दैनथे ।’

असाध्यै गाह्रो चिनियाँ भाषाबारे उनको छुट्टै अनुभव छ । उनीसँगै गएका अन्य तीनजनाले सिक्न छाडे आफू एक्लैले सिकेको भीम सुनाउँछन् । ६ महिना नबित्दै आफू चिनियाँ भाषा नेपालीमा उल्था गर्न सक्ने भएको उनले सम्झीए । उनले सिकेको यो ६ महिनाको चाईनिज भाषाको परिणामको रुपमा उनलाई अनुवादकको जिम्मेवारी दिईयो ।

मोडिएको जीवन
जब एसएलसी परीक्षाको नतिजा आयो अनी उनलाई जागिर खाने की पढाईलाई अगाडि बढाउने भन्ने अप्ठेरो पर्यो । जागिर नखाऊ घर परिवारमा केही भएपनि राहत मिलेको थियो तर, पढाई छाडौं भोलीको दिनमा आउने उल्झनले निम्तने समस्या ।

चरम गरिबीमा जागिरको आम्दानीले ठूलो भरथेग गरिरहेको उनको परिवारलाई जागिर छाड्दा आउने समस्याबारे राम्रो थाहा थियो । जागिर छाड्ने निर्णयमा पुगेका घिमिरेलाई चिनियाँले गुमाउन चाहेनन् र क्याम्पस पढ्ने समय व्यवस्थापन मात्र हैन आउजाउको लागि सवारीको व्यवस्था गरेपछि उनी दंग भए ।

नयाँ जिम्मेवारी
२०४७ सालमा चिनियाँ कम्पनी र टोयटा कम्पनीले विराटनगरको टंकिसिनवारीमा इँट्टा काराखाना संचालनमा ल्यायो । त्यसपछि उनको जीवनमा अर्को नयाँ किरण थपियो । भीमलाई चिनियाँ कम्पनीको तर्फबाट १५ जना प्राविधिकहरुको टिमको लिडर बनाइयो । त्यसैको सिलसिलामा उनी नियमित काममै लागे ।

आफै मालिक बन्ने दुष्प्रयास
एउटा मजदुरको रुपमा काम गर्न थालेका घिमिरेका लागि यहाँसम्म भाग्यले राम्रै साथ दियो । यो अवस्थामा आउँदासम्म उनी आफै उद्योग खोल्ने मनस्थितीमा पुगिसकेका थिए ।

‘आफै व्यवसाय थाल्नुपर्छ भन्ने सोचेँ,’ उनले भने, ‘चिनियाँ कम्पनीहरुको जागिरलाई छाडिदिएँ, सल्लाहकार मात्र बसेँ ।’ त्यही बेलामा उनले ढुवानी सेवा संचालनमा ल्याए । उनले कन्स्ट्रक्सनको काम पनि थाले । आफै मालिक हुने अभियानमा लागेका उनले ठेक्का पट्टाको काम पनि गर्न थाले । आफैले विराटनगरमा घर बनाए ।

सुरुमा जागिर खाएर जम्मा गरेको ३ लाख र केही बैंकबाट लिएको ऋणबाट उनले व्यापार थालेको सुनाए । उनले सुनसरीको आफ्नो जग्गामा इँट्टा उद्योग खोले । आफ्नै लगानीमा जमेका उद्योगी घिमिरेले टोयटा कम्पनीको पूर्वाञ्चल डिलरमात्र संचालन गरेनन्, २०६३ सालमा पेट्रोल पम्प किने, इँट्टा उद्योग पनि विस्तार गरेर दुईवटा पुर्याए ।

सफलताको श्रेय श्रीमतीलाई
भीम घिमिरे दुःखै दुःखको जगमा बनेका हुन् । संघर्षको जगमा बनेका हुन् । मेहेनत र इमानदारीको इँट्टाले उनको गज बनेको हो । उनी आफ्नो बनेको जगको श्रेय आफ्नो ईमान्दारीतालाई लिन्छन् ।

सन् २००४ मा उनलाई डीभी पर्यो । व्यवसाय छाडेर सपरिवार अमेरिका गए । न अजिता (श्रीमती)लाई अमेरिका चित्त बुझ्यो, न भीमलाई । नेपालमै परिवार र समाजको सेवा गरेर बस्ने ईच्छाका साथ गरिबीबाट उक्सिएको उनको परिवारलाई अमेरिका बसाई पछुतो लाग्यो । अमेरिकाको वैभव र आलिसानमा भीम र अजिता झण्डै डिप्रेशनको सिकार बने र अमेरिका गएको तीन सातामै नेपाल फर्किए । त्यसपछि फेरी व्यवसायलाई नै निरन्तरता दिन थाले ।

उनका अनुसार, सफलताको रथमा दुईवटा पाटामध्ये एउटा आफू र अर्को श्रीमती अजिता नै हुन् । सबै कम्पनीको नाम एबी राखेका छन् । पत्नी अजिता र आफ्नो नामको पहिलो अक्षरबाट एबी गु्रप नाम राखेका हुन् । अजिता कोशी अञ्चल अस्पतालमा नर्सिङ इन्चार्ज छिन् ।

भीम भन्छन्– ‘घरमा शान्ति भयो भने उन्नति हुन्छ । आज म जे छु, यसको श्रेय अजितालाई दिन्छु ।’ अहिले सातवटा विभिन्न कम्पनी चलाइरहेका घिमिरेले सात सयभन्दा धेरै कर्मचारी र मजदुरलाई रोजगार दिएका छन् । कृषि फर्मतर्फ समेत लागेका घिमिरेले मेहनत, इमानदारीता, अध्ययन अनि सकारात्मक सोचका साथ अघि बढ्यो भने सफल भइने बताए ।

प्रतिक्रिया