बहुविवाह गर्नेलाई एक वर्ष कैद

सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका-१८, भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

चौधरीकी श्रीमती गयादेवी चौधरीले उनका श्रीमान् विनोदले सप्तरीको सुरुंगा नगरपालिका-५ की २८ वर्षीया फूलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै वि.सं. २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गराएकी थिइन् ।

आरोपित विनोदले फूलकुमारीकै घरमा बहुविवाह गरेको भन्दै पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई ०७५ भदौ १५ गते पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद ०७५ असोज ११ गते ५० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अर्का आरोपित फूलकुमारी हालसम्म पक्राउ परेकी छैनन् । उनको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । सामाजिक परम्पराअनुसार ०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् । रासस

प्रतिक्रिया