फ्रान्समा पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

काठमाडौँ । फ्रान्सका पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ । तीनमध्ये दुई वर्ष निलम्बित सजाय रहने बताइएको छ ।

एक जना म्याजिस्ट्रेटलाई आफ्नो फौजदारी अपराधको मुद्दाको बारेमा सूचना दिए सम्मानित जागिर दिने लोभ देखाएको आरोप ६६ वर्षीय पूर्वराष्ट्रपतिलाई लगाइएको थियो । उनी जेल सजाय भोग्ने गरी सजाय पाउने पहिलो फ्रान्सेली पूर्वराष्ट्रपति भएका छन् ।

सार्कोजीका पूर्ववकिल र ती म्याजिस्ट्रेटलाई पनि उस्तै प्रकृतिको सजाय दिइएको छ । ती तीनै जनाले पुनरावेदन गर्ने मानिएको छ । फैसलामा प्यारिसका एक न्यायाधीशले सार्कोजीले डिजिटल ट्याग लगाएर एक वर्षको सजाय घरमै बिताउन सक्ने बताएका छन् ।

न्यायाधीशले सार्कोजीलाई आफूले गरिरहेको कार्य गलत भएको थाहा भएको र उनको त्यो कार्यले न्यायप्रतिको आमधारणा नराम्रो बनाउने बताएका थिए । यो मुद्दालाई आधुनिक फ्रान्समा महत्त्वपूर्ण मानिएको छ ।

यसअघि उनीभन्दा पहिलेका राष्ट्रपति ज्याक सिराकलाई प्यारिसको नगरप्रमुख हुँदा आफ्नो कार्यकर्तालाई जागिर दिएको आरोपमा सन् २०११ मा दुई वर्षको निलम्बित सजाय दिइएको थियो । सिराकको सन् २०१९ मा मृत्यु भइसकेको छ ।

सरकारी वकिलले सार्कोजीलाई चार वर्षको सजाय माग गरेका थिए । म्याजिस्ट्रेट गिल्बर्ट अजिबर्ट र सार्कोजीका वकिल थिअरी हेर्जगको फोन वार्तालाप प्रहरीले सन् २०१४ मा रेकर्ड गरेको थियो ।

सार्कोजीमाथि सन् २०१२ मा उनी पराजित भएको निर्वाचनमा तोकिएभन्दा धेरै खर्च गरेको आरोपको मुद्दा पनि छ जसको मार्च १७ देखि एप्रिल १५ सम्म सुनुवाइ हुँदैछ । –बीबीसी

प्रतिक्रिया