दरबार छाड्नुमा मिडियाको मुख्य हात

काठमाडौं । पछिल्लो समय बेलायती राजकुमार ह्यारीको राजपरिवारबाट बहिर्गमनको विषय फेरि चर्चामा आएको छ ।

गत वर्ष राजपरिवारबाट औपचारिक रुपमा बाहिरिएका प्रिन्स ह्यारीले मिडिया आफ्नो मानसिक स्वास्थ्यमा असर पर्नेगरी प्रस्तुत भएको भन्दै बहिर्गमनको निर्णय लिनुपरेको बताएका छन् ।

राजपरिवार परित्याग र लण्डन छाडी अन्यत्र गएको विषयमा जेम्स कोर्डनद्वारा सञ्चालित एक कार्यक्रम ‘द लेट लेट सो’ मा गरिएको एक अन्तर्वार्ताका क्रममा उनले राजपरिवारमा छँदा आफूलाई मानसिक रुपमा धेरै कुराहरूको दबाब परेकाले आफ्नो व्यक्तिगत जीवन र परिवारका लागि नै सोचेर यो निर्णयमा पुगेको बताएका छन् ।

‘हामी सबैलाई बेलायतका मिडियाहरु कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा राम्रोसँग थाहा छ । यसले मेरो मानसिक स्वास्थ्यलाई पूर्ण रूपमा हानी पुर्‍याइरहेको थियो‚’ उनले भनेका छन्‚ ‘यो एउटा नशाजस्तो रहेछ भन्नेमा म पुगेँ । त्यसैले अन्ततः मैले त्यो गरेँ‚ जुन एक पति र पिताले उसका सन्तानका लागि गर्नुपर्थ्यो ।’

प्रिन्स ह्यारी र उनी श्रीमती मेगन‚ डचेस अफ सक्सेसले गत वर्ष सन् २०२० जनवरीमा नै आफूहरू राजपरिवारको सदस्यबाट समेत बाहिरिएको घोषणा गरिसकेका छन् ।

Harry and megan MK

द लेट लेट सोमा लिइएको उक्त अन्तर्वार्ताका क्रममा उनले आफूले नेटफ्लिक्समा ‘द क्राउन’ भन्ने सिरिज हेरेको र सो सिरिजले आफूलाई धेरै प्रभाव पारेको भन्दै आफ्नो परिवार र आफ्नै बारेमा बनाइएका विभिन्न सिरिज‚ फिल्मले भन्दा यो सिरिजले यथार्थता झल्काएको बताएका थिए ।

‘मिडियाले कहिले पनि समाचारलाई समाचारको रुपमा लेखेनन् । उनीहरूले समाचारलाई कथाको रुपमा व्याख्या गरिरहे‚’ सोमा उनले भनेका छन्‚ ‘यस्ता किसिमका समाचारहरू तथ्यको आधरमा थोरैमात्र हुने गर्छन् । यस्ता समाचाहरु पूर्णतः सत्य भन्ने त हुँदै हुँदैनन् तर झन् उल्टोगरी राजपरिवार बाँचिरहेको जीवनशैली‚ कामका कुराहरूलाई यसरी प्रस्तुत गरिन्छ कि मानिसको दिमागमा राजपरिवारप्रति भएको एउटा छवि नै झन् बिगारिदिन्छ ।’

को हुन् ह्यारी ?
ह्यारी सन् १९८४ सेप्टेम्बर १५ मा सेन्टमेरिज हस्पिटल, प्याडिङ्टनमा आमा डायना र बुबा चार्ल्सको दोस्रो सन्तानको रुपमा जन्मिए । उनको नामकरण ‘प्रिन्स हेनरी चाल्र्स अल्बर्ट डेभिड’ का रुपमा गरियो । तर परिवार र साथीभाइबीच ह्यारीका नामले चिनिन थाले । १९९६ मा आमा डायनाको कार दुर्घटनामा मृत्यु भयो । त्यसपछि सन् २०१७ मा ‘द टेलिग्राफ’लाई दिएको अन्तर्वार्तामा उनले आमाको मृत्युपछि आफूमा मानसिक समस्या देखिन थालेको बताएका थिए ।

prince meghan MK

सन् २०१८ मा उनले अमेरिकी अभिनेत्री मेगन मर्केलसँग विवाह गरे । उनको विवाहको विषयलाई लिएर केही सकारात्मक हल्ला चले भने केही नकारात्मक । उनीहरूको विवाहको प्रसङ्ग बाहिर आएसँगै विभिन्न मिडियाहरुले मेगनको जातियतामाथि पनि प्रश्न नउठाएका भने होइनन् । त्यसबेलादेखि नै मिडियाप्रति उनीहरूको वितृष्णा जागेको थियो ।

मेगनका पछिल्ला अन्तर्वार्तामा राजपरिवारप्रति आफ्नो उत्कट इच्छा नभएको बताउँदै आएकी थिइन् । ह्यारीले पनि आफूलाई उपाधीको कुनै आश नभएको र मिडियाहरूबाट पनि सँधै टाढा हुन खोज्ने आफ्नो स्वभाव भएको बताउँदै आएका थिए । राजगद्दीको वरियताको आधारमै हेर्ने हो भने पनि ह्यारी छैटौं स्थानमा पर्छन् ।

किन रोजे ह्यारीले बहिर्गमनको बाटो ?
पछिल्ला केही महिना उनीहरू आफ्नो छोरो आर्चीसँगै क्यानडामा बस्दै आएका थिए । ह्यारी र मेगनका अनुसार राजपरिवार बहिर्गमनको विषयमा दुवैले धेरै महिनाअघिदेखि सल्लाह गरेर यस्तो निर्णय लिएका हुन् ।

उनीहरूले २०१८ को अक्टूबरमा नै विभिन्न टेलिभिजनहरूले लिएको अन्तर्वार्तामा राजपरिवारबाट बहिर्गमनको बाटो रोज्ने केही संकेत गरेका थिए ।

त्यसबेला राजकुमार ह्यारी र मेगन अफ्रिका भ्रमणमा थिए । सोही समयमा उनीहरूमाथि एउटा डकुमेन्ट्री पनि बनेको थियो । जब उनीहरूको डकुमेन्ट्री टिभीमा सार्वजनिक भयो, त्यसबेलादेखि नै उनीहरूको रुची स्वतन्त्र रुपमा आम मानिसले झैं जीवनयापन गर्ने थियो भनेर उनीहरूले बताउँदै आएका छन् ।

क्यानडाको लामो बसाइपछि बेलायत फर्किएका उनीहरूले एक्कासी आफ्नो बहिर्गमनको घोषणा गरे, जुन राजपरिवारलाई झड्का साबित भयो । अप्रत्याशित रुपमा गरिएको यति ठूलो निर्णयका बारेमा राजपरिवारका अन्य सदस्यसँग कुनै सरसल्लाह थिएन । यो निर्णयबाट खासगरी महारानी एलिजावेथ स्तब्ध भइन् । राजपरिवारलाई चोट पुग्यो ।

The Duke And Duchess Of Sussex Attend The Endeavour Fund Awardsघोषणा भएकै दिन बकिङघम दरबारले एक वक्तव्य सार्वजनिक गर्दै भन्यो, ‘उनीहरूको फरक धारमा रहेर जीवन व्यतित गर्न चाहने लक्ष्यलाई हामीले बुझेका छौं । तर, बिनासल्लाह यति ठूलो निर्णय गर्नु उचित होइन । यसमा लामो बहसको आवश्यकता छ ।’

यसैक्रममा विभिन्न सञ्चारमाध्यममा यस विषयमा सोधिएको प्रश्नमा मेगनले आफूहरूले यसविषयमा पूर्वतयारी गरेरै निर्णय लिएको बताएकी थिइन् । ‘धेरै महिनादेखिको छलफलबाट नै हामीले यस्तो निर्णय लिएका हौं,’ त्यसबेला बिहर्गमनको विषयमा मेगनलाई सोधिएको प्रश्नमा उनले भनेकी थिइन्, ‘हामी अहिले पर्ख र हेरको अवस्थामा छौं, मैले पहिलेदेखि नै ह्यारीलाई भन्दै आएकी छु, जिन्दगी ज्युनुमात्रै जीवनको उद्देश्य होइन ।’

यस्तो निर्णय लिनुको पछाडि अरु पनि कारण भएको आशंङ्का गरिएको छ । सन् २०१९ को अक्टूबरमा मेगनको व्यक्तिगत इमेल कुनै एक स्थानीय अखवारमा सार्वजनिक भएपछि उनी कानुनको ढोका ढक्ढक्याउनसम्म पनि पुगेकी थिइन् ।

त्यसबेला ह्यारीले भनेका थिए, ‘सानै उमेरमा आमा गुमाएँ । आमाको मृत्युपछि मानसिक समस्याको सामना गर्दै आएँ । अहिले फेरि आफ्नी पत्नी गुमाउन चाहन्नँ । सँधै मिडियाको आँखामा परिरहनु मेरो रुचीको विषय होइन, मानिसहरूले कुनै एउटा भौतिक वस्तुको रुपमा मात्रै हेरिरहनु मेरा लागि सर्वथा अनुचित छ ।’ उनले अरुको व्यक्तिगत कुरामा धेरै चासो नदिन मिडियाहरूलाई आग्रहसमेत गरेका थिए ।

उनी राजपरिवारको वरियताक्रममा छैटौं स्थानमा छन् । कतिपय मानिसहरूले यसैलाई नै उनको राजपरिवारको आफ्नो जिम्मेवारीबाट बाहिरिएको विषयसँग जोडेर हेर्ने गरेका छन् । तर, यस विषयमा राजकुमार ह्यारी भने मौन बसिरहेका थिए । उनका अनुसार सार्वजनिक रुपमा प्रशंसनीय अथवा आलोचित भएर बस्नुभन्दा व्यक्तिगत स्वतन्त्रतामा रमाउनु नै उचित भएकाले नै उनले बहिर्गमनको बाटो अङ्गालेका हुन् ।

केही मानिस भने उनकी श्रीमती मेगनका कारण उनीहरूले सो निर्णय लिएको बताउँदै आएका छन् । गत वर्ष आफ्नो व्यक्तिगत इमेल सार्वजनिक भएसँगै मेगनमा यसप्रति वितृष्णा जागेको हुनसक्ने आकलन गरिएको छ । उनको व्यक्तिगत विषय सार्वजनिक गरेको भन्दै बेलायतको उच्च अदालतमा ‘द न्यूज’‚ ⲵ‘न्यूज अफ द वर्ल्ड’ र ‘द डेली मिरर्’ नामक समाचार संस्थावरुद्ध उजुरी दर्ता गराएकी थिइन् ।

उनीमाथि यस विषयलाई लिएर गरिएको नकारात्मक टिप्पणी ह्यारीलाई चित्त नबुझेको कारणले पनि उनी यो निर्णयसम्म पुगेको हुनसक्ने आशंका धेरैले गरेका छन् ।

UK Royal family MK

उनको व्यक्तिगत स्वार्थका लागि राजपरिवारमा आफ्नो भूमिकाबाट नै अलग हुने निर्णय गर्नु राम्रो नभएको विश्लेषण पनि प्रशस्तै गरिँदै आएका छन् । कतिपयले भने अमेरिकामा जीवन व्यतित गरेकी मेगनले राजसंस्थामा टिक्न नसकेको भनी टिप्पणीसमेत गरेका छन् ।

राजकुमार ह्यारी उनका दाजु राजकुमार विलियम झैं मिडियामा देखिन चाहने स्वाभाका छैनन् । त्यसैले पनि यसरी सार्वजनिक रुपमा अगाडि आइरहनुभन्दा आफ्नै एउटा नयाँ च्यारिटी संस्थाको उद्घाटन गरी सोही संस्थाको प्रमुखको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा रहेको बताइएको छ ।

यस्तो आकस्मिक रुपले राजपरिवारका सदस्यहरू नै आफ्नो भूमिकाबाट बाहिरिन थालेपछि कतै ‘लहरो तान्दा पहरो गर्जने’ पो हो कि? भन्ने आशङ्का पनि गरिएको छ । उनलाई नै उदाहरण मानेर अरुले पनि यस्तै निर्णय गर्न थाले भने कतै राजसंस्थामाथि नै प्रश्नचिह्न खडा हुने त होइन? भन्नेजस्ता विभिन्न विश्लेषणहरू पनि बाहिर आइरहेका छन् ।

Signs Prince Harry, Meghan Markle were ready to leave royal family

उनीहरूले आगामी दिनमा साना मिडियाहरूसँग बढी सम्पर्कमा रहनेसमेत निर्णय गरिसकेका छन् । दुवैले राजपरिवारमा आफ्नो भूमिकाबाट अलग भए पनि विभिन्न सामाजिक सञ्जाल आदिका माध्यमबाट सम्पर्कमा रहिरहनेसमेत बताएका थिए ।

सन् २०१९ मा राजकुमार ह्यारीले सेनाको कामकाजबाट पूर्ण रुपमा अवकाश लिएर क्यानडाको ब्रिटिस कोलम्बियामा समय व्यतित गरेका थिए । उनलाई दाजु विलियमको जस्तो राजसंस्थाको कुनै पनि कार्यक्रमको वास्ता थिएन । उनमा सँधै एक साधारण व्यक्तिको रुपमा जीवन जिउने चाहना रहेको उनका समकक्षीहरूले बताएका छन् ।

उनले बहिर्गमनको बाटो रोजेपछि राजपरिवारको सामूहिक छलफल बसेर उनलाई यस्तो निर्णय फिर्ता लिन आग्रहसमेत गरिएको थियो । यस्तो निर्णयप्रति उनका बुबा‚ युवराज चार्ल्स र उनका दाइ विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेका थिए ।

(अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा)

प्रतिक्रिया