कोभिडपछि पनि उठ्न नसकेका सरकारी स्वास्थ्य संस्था

  • सुमन सुस्केरा

विराटनगर । कोभिडको बेला सरकारले कतिपय ठाउँमा राम्रो काम गरेको छ भने कतिपय ठाउँमा कामै गर्न नसकेको आरोपहरु पनि लागे । नेपालमा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै जाँदा गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउन भयो ।

प्रदेश १ को भुल्केमा एकैदिन ८ जनालाई संक्रमण देखिएपछि त्यसको त्रास प्रदेश १ मा पनि बढ्यो । त्यससयता स्वास्थ्य क्षेत्रमा निक्कै ठूलो लगानी भएको भनिएपनि उल्लेख्य सुधार हुन नसकेपनि केही सुधार भने देखिएको छ ।

प्रदेश १ मा कोभिडका कारण कति स्वाथ्य सामग्री भित्रिए अनि कति अनुदानमा आए भन्ने सबैको चासो छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य विकास निर्देशनालयअनुसार प्रदेश १ सरकारले आफैँले किन्ने भन्दा पनि संघीय सरकारबाट नै अनुदानमा धेरै उपकरणहरु खरिद भएको छ । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेश १ का १४ जिल्लामध्ये केही जिल्लामा मात्र अस्पतालको स्तरोन्नति भएको छ । प्रदेश १ का १४ जिल्ला अस्पताल प्रदेश सरकार माताहतका अस्पताल हुन् भने मेची अस्पताल प्रदेश सरकार माताहतमा आएर संचालित छ ।

कोभिडको समययता ती अस्पतालहरुको सुधारलाई हेर्दा मेची अस्पतालमा सघन उपचार कक्ष (एचडियू) सेवाका लागि २५ बेड निर्माण भएको छ । पाँचथर जिल्ला अस्पतालमा २ बेड भेन्टिलेटरसहित १० बेड आइसियू सेवा, ईलाम जिल्ला अस्पतालमा २ बेड भेन्टिलेटर र २ बेड आइसियू सेवा संचालनको लागि सामग्री पठाइएको छ ।

धनकुटा जिल्ला अस्पतालमा १० बेड आइसियू र ४ बेड भेन्टिलेटर उपलब्ध गराइएपनि काम थालिएको छैन ।

उदयपुरमा २ बेड भेन्टिलेटर र ४ बेड आइसियू सेवा सुचारु हुन सकेको छैन । यसको कारण भने आइसियू हेर्ने डाक्टर नहुनु नै हो । उदयपुर जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीव नारायण मण्डल १० जना एमडी डाक्टर हुनुपर्नेमा खाली रहेकाले सुचारु हुन नसकेको बताउँछन् । प्रविधि आएपनि त्यसलाई संचालन गर्न सक्ने जनशक्ति कुनैपनि अस्पतालमा हुन नसक्नु नै अहिलेको मुख्य समस्या रहेको उनले बताए ।

यी सबै जिल्ला अस्पतालहरुमा संघीय सरकारले रकम उपलब्ध गराएको तर त्यसको कार्यान्वयन गराउने काम प्रदेश सरकारले गरेको हो । आइसियू र भेन्टिलेटरको लागि सरकारले उपकरण खरिद गरेर सम्बन्धित कार्यालयमा पठाउने काम गरेको भएपनि अहिलेसम्म ती कार्यालयमा सम्बन्धित विशेषज्ञ डाक्टर नजाँदा सेवा सुचारु हुन समस्या रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा नै संघीय सरकारको लगानीमा बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा सरुवा रोग अस्पताल सिलान्यासको काम पनि शुरु भएको छ । यस वर्ष ८ करोड बजेट विनियोजन भएर काम शुरु भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले धेरै काम मन्त्रालयबाट नै हुने भएकाले स्तरोन्नति भएका अस्पतालको बारेमा जानकारी नभएको बताए । कोभिड अस्पतालको बेला पहिला रोग नियन्त्रणको लागि नै काम भएको तर पछि बिरामी बढ्दै जाँदा प्रदेशको कोभिड उपचारको केन्द्रीय अस्पतालको रुपमा कोशी कोभिड अस्पतालबाट नै काम भएको उनले बताए । बिरामीको संख्या बढ्दै जाँदा कोशी कोभिड अस्पतालबाट नै सेवा दिनेगरि कर्मचारी नियुक्ति गरिएको थियो ।

कति कर्मचारी थपिए ?
कोभिड- १९ शुरु हुनासाथ अधिकांश स्वास्थ्यकर्मीमा त्रास थियो । उपचारको लागि कोही पनि नजाने तथा जानु पर्दा पनि सुरक्षाको निक्कै ठूलो विषय बनेको थियो । ‘प्रदेशका विभिन्न जिल्लामा रहेको खाली दरबन्दीमा कर्मचारी आह्वान गरेर कोशी कोभिड अस्पतालमा कर्मचारी भर्ना गरिएको थियो,’ निर्देशक बस्नेतले भने, ‘पहिलो चरणमा ३६ जनालाई नियुक्त गरिएकोमा २ जना विज्ञ, १८ जना डाक्टर, १० जना जनस्वास्थ्य अधिकृत र ६ जना स्टाफ नर्स थिए ।’

नियुक्त गरिएका उनीहरु अहिले दरबन्दी भएको जिल्लामा गइसकेको र कोभिड अस्पतालका लागि प्रदेश सरकारले ३० जनाको नियुक्त गरेको निर्देशक बस्नेतले बताए । पछिल्लो समय नियुक्त भएकाहरुमा ८ जना डाक्टर, ८ जना नर्स, ८ जना एचए र ६ जना ल्याबका कर्मचारी नियूक्त भएको उनको भनाइ छ ।

यी प्रयोगशालाका सामग्री थपिए
कोभिडका बीचमा प्रदेश प्रयोगशालाबाट पनि विभिन्न सामानहरू जडान भएको प्रदेश सरकारले जनाएको छ।

पाठेघरमा हुने क्यान्सरको परीक्षण मेसिन जडान, प्रदेश १ का चार स्थानमा पिसिआर मेसिन जडान भएको छ। जिल्ला अस्पतालहरु भोजपुर, ईलाम, उदयपुर र धनकुटामा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणसम्बन्धी नमुना रक्त संकलन केन्द्रको संचालनको काम सुरु भएको छ । यसका लागि रगत परीक्षण गरी नमुना संकलन गरेर प्रदेशिक प्रयोगशालामा पठाउने काम हुनेछ ।

सरकारी अस्पताल कोशीमा १ सहित प्रदेशका ४ गरी ५ वटा पिसिआर र निजी अस्पतालमा ४ वटा पिसिआर मेसिन रहेको छ । कोभिडका कारण कति सिकिस्त छन् भनी थाहा पाउने डि डाईमर मेसिन पनि यहीबीचमा खरिद भएको छ । डि डाईमर मेसिनले बिरामीको अवस्था कस्तो छ भनेर मापन गर्न सकिने प्रदेश प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले जानकारी दिए ।

प्रयोगशालालाई व्यवस्थित गर्नका लागि स्नातकोत्तर क्याम्पसको जग्गामा प्रदेश प्रयोगशालाको भवन निर्माण शुरु भएको छ । ८ करोडको लागतमा शुरु भएको भवन ८ महिनामा पुरा हुँदैछ । पिसिआर परिक्षणको क्रममा आवश्यक पर्ने स्वास्थ्य सहयोगी सामान वितरण गरिएको प्रमुख यादवले बताए ।

प्रतिक्रिया