पोखराको रिट्ठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीवारको बैठकले विमानस्थलको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याको सम्बन्धमा सरोकारवालासँग छलफल गरेपछि विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिट्ठेपानी डाँडा आउँदो ६ महिनाभित्र कटान गरिसक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति तारादेवी भट्टले जानकारी दिइन् ।

डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिइएको पनि उनले बताइन् ।

बैठकले विमानस्थलभित्र नेपाल ओइल निगमको डिपो निर्माण ६ महिनाभित्र गरिसकेर त्यसको जानकारी समितिमा गराउन निर्देशन दिएको छ । यस्तै, पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।

समितिले विमानस्थल निर्माणका बाँकी काम समयमै सम्पन्न गर्न सबै काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि भएको सभापति भट्टले जानकारी दिइन् ।

प्रतिक्रिया