कोभिडका कारण अमेरिकामा ५ लाखको मृत्यु

काठमाडौँ । अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको छ । अमेरिका कोभिडका कारण सर्वाधिक मृत्यु बेहोर्ने देश हो ।

अमेरिकाको पश्चिमी तटमा पहिलो पटक भाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको उक्त रोगका कारण निधन भएको हो । कोभिड-१९ सुरुमा चीनमा देखा परेको थियो । मृतकको सङ्ख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए । अमेरिकामा दुई करोड ८१ लाखभन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् । कोभिड-१९ को सर्वाधिक संक्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ ।राष्ट्रपति बाइडनले सोमवार दिउँसो जारी गरेको आह्वानमा सबै सङ्घीय संस्थालाई आगामी पाँच दिनका लागि आधा झण्डा झुकाउन भनिएको छ ।बाइडनले ह्वाइट हाउसमा भने, ‘अहिलेसम्म भाइरसका कारण पाँच लाखभन्दा बढी अमेरिकीहरूको ज्यान गइसकेको छ । यो एक वर्षभित्र महामारीका कारण पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाको पक्षमा भएको मानवीय क्षतिभन्दा बढी हो ।’

उनले अमेरिकीहरूलाई एक हुन र महामारीलाई परास्त गर्न पनि आह्वान गरे । अमेरिकामा संक्रमितको संख्या दोस्रो स्थानमा रहेको भारतको भन्दा दोबर देखिएको छ । अमेरिकापछि ब्रजिलमा सबैभन्दा धेरै मानिसको निधन भएको छ । त्यहाँ दुई लाख ४४ हजारको कोभिड-१९ का कारण ज्यान गइसकेको छ । –बीबीसीबाट

प्रतिक्रिया