फागुन १३ गते ‘डिजिटल लर्निङ डे’ विशेष कार्यक्रम हुने

काठमाडाैं । निमा एकेडेमीले फागुन १३ गते ‘डिजिटल शिक्षाको लागि सँगै’ नारासहित डिजिटल लर्निङ डे कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुने आयोजकले जनाएको छ ।

सबै विद्यार्थीका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको हो । यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो ।
निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि (२०७५ मा) डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ यो दिवस मनाउन सुरु गरेको हो ।

शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताए ।

कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ । यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ ।
आयोजकका अनुसार ‘रिइमाजेनिङ डिजिटल एजुकेशनः पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ ।

कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ । कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेका छौं । यसैगरी डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुने बताइएको छ ।

प्रतिक्रिया