‘कांग्रेससँग जुलुश निकाल्ने पैसा छैन’

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेससँग जुलुश निकाल्न पैसा नभएको बताएका छन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक भनिएको कदमविरुद्ध जुलुश निकाल्न कांग्रेससँग पैसा नभएको बताएका हुन् ।

बिहीबार नेपाल मगर संघ, गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गरेका सभापति देउवाले जुलुश निकालेर अदालतलाई नतर्साउन आग्रह गर्दै कांग्रेससँग पैसा नभएको बताएका हुन् । ‘हामीसँग पैसा पनि छैन’, सभापति देउवाले भनेका छन्, ‘जबरजस्ती बोलाउन पनि सक्दैनौँ ।’

यसअघि पनि सभापति देउवाले जुलुश निकालेर अदालती प्रक्रियालाई नबिथोल्न र अदालतलाई नतर्साउन आग्रह गर्दै आएका थिए । यसभन्दा अगाडि कांग्रेससँगै विपक्षी नेकपा र समाजवादी पार्टीले संसद् विघटनविरुद्ध संयुक्त आन्दोलनको घोषणा गर्ने तयारी गरेको थियो । तर, अन्त्यमा गएर यसलाई कांग्रेसले अस्वीकार गरेको थियो ।

तत्पश्चात् कांग्रेस एक्लैले सबै निर्वाचन क्षेत्रसँगै वडा तहसम्म प्रदर्शन गर्दा पनि सभापति देउवाको लाइन भनेका प्रायः उही रहँदै आएको छ । यसपछि सभापति देउवामाथि ‘सत्तामोह’ हाबी भएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया