नेप्से परिसूचक २६ सयमाथि, १० अर्बभन्दा बढीको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले बढेर २६०१ अंकमा पुगेको छ । मंगलबार कारोबारको केही सयमपछि २६३१ अंकसम्ममा पुगेको नेप्से कारोबार बन्द हुनेबेला भने २६०१ अंकमा समेटिएको हो । यद्यपी, हाल हालसम्मकै उच्च विन्दु हो ।

मंगलबार १० अर्ब ३ करोड, ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँमा २ सय ८ कम्पनीका १ करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता सेयर कारोबार भएको छ । कुल ७६ हजार ४ सय ९३ ओटा कारोबारमार्फत उक्त परिमाणको सेयर खरिदबिक्री भएको हो ।

समग्र परिसूचकमा दोहोरो अंकको वृद्धि कायम रहे पनि समूहगत परिसूचकहरु भने घटेका छन् । बैंकिङ, विकास बैंक, म्युचुअल फण्ड र अन्य समूहकाबाहेक अरु सबै परिसूचक राताम्य भएका छन् ।

मंगलबार सबैभन्दा बढी चन्द्रागिरी हिल्स लिमिटेडको सयेर मूल्य १० प्रतिशतले बढेको छ । निफ्राको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, मिर्मिरे माइक्रो फाइनान्सको सेयर मूल्य पनि ९.९८ प्रतिशतले नै बढेको छ । यी दुइसहित ५ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार नविल बैंकको सेयरको भएको छ । नविल बैंकको ५२ करोड ग्लोबल आइएमई बैंकको ४२ करोड, नेपाल बैंकको ३९ करोड, एनआईसी एसियाको ३३ करोडको सेयर कारोबार भएको छ ।

मंगलबारको बजारमा लगानीकर्ताको बढी आकर्षण बैंकिङ समूहको कम्पनीमा देखिएको छ । यही समूहले समग्र नेप्से परिसूचक उकास्न सहयोग गरेको देखिएको छ ।

प्रतिक्रिया