इन्टरनेटको धेरै प्रयोगले पनि डिप्रेशन हुन सक्छ : डा‍‍. अधिकारी

काठमाडाैँ । डिप्रेशन एक उदासीपन हो । घोर निराशा एवम् बेखुसीको अवस्था हो । उदासीपन अथवा मानसिक चिन्ताको तह बढ्दै जाँदा मानिस आफैँलाई हानी पुर्याउने अवस्थासम्म पुग्ने भएकाले हेलचेक्र्याईँ नगर्न  डाक्टरको सुझाव छ ।

डिप्रेशनले धेरैको ज्यान लिएको पछिल्लो तथ्यांक छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी, २०२० मा सार्वजनिक गरेको तथ्यांकअनुसार डिप्रेशनका कारण विश्वमा ८ लाख मानिसहरुले वर्षेनि आत्महत्या गर्छन् भने २६ करोड ४० लाख मानिसहरु यसबाट प्रभावित छन् ।

कोभिड-१९ महामारीबाट सिर्जित नाजुक, दुःखद् एवम् अभावमय परिस्थितिका कारण पनि धेरै मानिसहरु अझै पनि डिप्रेशनको अवस्थामा छन् । डिप्रेशनका लक्षणहरु के हुन् ? कसरी जाेगिन सकिन्छ ? उपचार कसरी हुन्छ ? लगायतका विषयमा सृष्टि नेपालले मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारीसँग  गरेकाे कुराकानी :-

डिप्रेशन के हो ? यसका लक्षण कस्ता हुन्छन् ?
डिप्रेशन एक मनोवैज्ञानिक समस्या तथा रोग हो । चरम निराशाको अवस्था हो । यसले मानिसको विचार, अनुभूति र व्यवहारमा नकारात्मक असर गर्छ । खुशी र उत्साहमा यसले हस्तक्षेप गर्छ र मानिस हरेकपल दुःखी हुन्छ । निन्द्रा पर्दैन । समग्रमा बेखुसीको अवस्था नै डिप्रेशन हो ।

डिप्रेशनलाई विशेषगरी तीन प्रकारमा विभाजन गरिएको छ । सामान्य, अलि कडा र धेरै कडा खालका डिप्रेशनहरु देखिन्छन् । व्यक्तिमा कुन तहको डिप्रेशन हो भन्ने कुरा लक्षणको मात्राअनुसार पहिचान गर्न सकिन्छ ।

– निराश हुने ।
– नरमाइलो अनुभुति हुने ।
– उपलब्धिमै पनि खुशी नलाग्ने । बेखुसी हुने ।
– काम नगर्दा पनि धेरै थकान महशुष हुने ।
– आत्मविश्वासको स्तर खस्किने ।
– कुनैपनि काममा जाँगर नलाग्ने ।
– रुन मन लाग्ने ।
– निन्द्रा बिग्रिने ।
– पश्चातापको भावना आउने । हिनताबोध हुने ।
– ‘मेरो जीवन ध्वस्त भयो । म सकिएँ । बाँच्नुको अर्थ छैन’ लगायत नकारात्मक भावना आउने ।
– कतिपयमा आत्महत्याको सोचाइ पनि आउँने जस्ता यसका लक्षण हुन्छन् ।

कुनै व्यक्ति डिप्रेशनमा भएको अरुले थाहा पाउन सक्छन् ?
सक्छन् । कुनै व्यक्ति डिप्रेशनमा छ भने ऊ प्रायः एक्लै बस्न रुचाउने हुन्छ । नबोल्ने, बोलाउँदा झर्को मान्ने, अनावश्यक कुरामा पनि रिसाउने, झर्किने, खानामा रुची कम हुँदै जाने, यौन इच्छामा पनि कमी आउने हुन्छ । कुनै व्यक्तिमा यी परिवर्तनहरु देखिएमा ऊ डिप्रेशनमा छ भन्ने बुझ्न सकिन्छ ।

एक्लोपन रुचाउने सबै डिप्रेशनमै हुन्छन् त ?
कसैको स्वभाव नै एक्लोपन रुचाउने किसिमको हुन्छ । तर अचानक परिवर्तन आउँदा अथवा कम्तिमा दुई साताभन्दा लामो समयसम्म त्यस्तो अवस्था रह्यो भने डिप्रेशन भनेर बुझ्नुपर्छ । लगातार निराश भइरहने, दिक्क लाग्ने, मन उदास हुने, खुशी नलाग्ने लगायतका लक्षणसँगै देखिने एक्लोपनको अवस्था भनेको डिप्रेशन नै हो ।

यद्यपि एक्लोपन रुचाउँदैमा उसमा डिप्रेशन नै छ भन्न मिल्दैन ।

आफूलाई डिप्रेशन भएको हामी आफैँले थाहा पाउन सक्छौँ कि सक्दैनौँ ?
सक्छौँ । माथिका लक्षणहरु भनेको आफूलाई नै बढी अनुभुति हुने लक्षणहरु हुन् । ती नै लक्षण अनुसार व्यक्तिले आफूलाई डिप्रेशन भएको थाहा पाउन सक्छ र सावधानी अपनाएर समयमै त्यसबाट तंग्रिन पनि सक्छ ।

तनाव, चिन्ता बाहेक डिप्रेशनका अन्य कारणहरु पनि हुन्छन् ?
यो–यो कारणले नै डिप्रेशन हुन्छ भन्न सकिँदैन । कसैमा वंशाणुगत गुणका कारण डिप्रेशन हुन्छ । यदि उसको पुर्खा, परिवारमा डिप्रेशन छ भने उसलाई पनि हुने केही सम्भावना रहन्छ । त्यसबाहेक लागुपदार्थ, जाँडरक्सि खाने व्यक्तिलाई पनि डिप्रेशन हुने सम्भावना धेरै हुन्छ । कसैलाई नयाँ ठाउँमा जाँदा त्यहाँको वातावारणमा घुलमिल हुन गाह्रो हुन्छ । माहौल बुझ्न समय लागेको छ भने उसलाई त्यही कारणले पनि डिप्रेशन हुन सक्छ ।

हामी कहिलेकाहीँ सामान्य तनाव हुँदा पनि आफू डिप्रेशनमा गएका कुराहरु गरिरहेका हुन्छौँ । त्यो पनि डिप्रेशन नै हो या भ्रममात्रै हो ?
यो भनेको डिप्रेशनलाई निकै हलुका रुपमा व्याख्या गर्नु हो, सामान्य रुपमा मेरो आज काम बिग्रियो, म त डिप्रेस्ड भएँ भन्दैमा उसलाई डिप्रेशन भएको भन्न मिल्दैन । कम्तिमा पनि दुई सातासम्म निरन्तर निराश भइरहने, दिक्क लाग्ने, रुन मात्रै मन लाग्ने, काममा जाँगर नआउने लगायतका परिवर्तन देखिएमा बल्ल त्यसलाई डिप्रेशन भन्न सकिन्छ ।

डिप्रेशन हुँदा शारीरिक स्वास्थ्यमा के कस्ता परिवर्तन देखिन्छन् ?
डिप्रेशन भइसकेपछि मस्तिष्कमा हुने विभिन्न प्रकारका रसायनहरुमा असन्तुलन आउँछ, जसकारण शरीरमा पनि परिवर्तनहरु देखिन्छन् । थकान महसुस हुने, जीउ भारी हुने, हातखुट्टा झमझमाउने, शरीरका विभिन्न भागहरुमा दुख्ने, पेट पोल्ने, टाउको दुख्ने हुन्छ । कतिलाई भने दिसापिसाबमा समस्या आउँछ । कसैलाई कब्जियत हुने, कसैलाई पखाला चल्ने समस्या देखिन्छ ।

डिप्रेशन हुन नदिन के गर्न सकिन्छ ?
तनावबिनाको मानिस कोही पनि हुँदैन । तर त्यो तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने चाहीँ सिक्नुपर्छ । कसैले सामान्य कुरालाई पनि धेरै ठूलो तनावका रुपमा लिन्छन् तर यस्तो गर्नु हुँदैन । एउटा समस्याले जीवन नै सकिन्छ भन्ने भावना ल्याउनु हुँदैन । अप्ठेरो परिस्थितिमा धेरै चिन्ता गर्ने भन्दा पनि चिन्तन गरेर त्यो समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ । आफूलाई सक्दो खुशी राख्ने कोशिस गर्नुपर्छ ।

राति धेरै अबेरसम्म अनिदो बस्ने, इन्टरेनटमा धेरै समय व्यतित गर्ने पनि हुन्छन् जुन मानसिक र शारीरिक स्वास्थ्य दुवैका लागि राम्रो मानिँदैन । अर्को भनेको लागुऔषध, कुलतमा फस्नबाट जोगिने, यस्ता कुराहरु नखाने । अस्वस्थ खानपानले पनि शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउँछ । समस्याहरू भएमा साथीभाइसँग सेयर गर्न सकिन्छ, यसले मनमा बाेझ कम हुन्छ ।  यी कुराहरुमा ध्यान दिइयो भने डिप्रेशनबाट टाढा रहन सकिन्छ ।

डिप्रेशन भइहालेमा हामी आफैँ त्यसबाट मुक्त हुन सक्छौँ अथवा औषधि, काउन्सिलिङ अनिवार्य हुन्छ?
सामान्य किसिमको डिप्रेशन छ भने त्यो आफैँ पनि ठिक हुन सक्छ । मनमा धेरै कुराहरु नराख्ने, साथीभाइसँग आफ्ना समस्याहरु सेयर गर्ने, सकेसम्म रमाउन र खुशी हुन खोज्ने अथवा आफूलाई खुशी अनुभुति हुने कामहरु गरेमा सामान्य डिप्रेशन हो भने ठिक हुँदै जान्छ ।

सामान्य भन्दा अलिकति कडा र धेरै कडा खालको डिप्रेशन छ भने उपचार नै गर्नुपर्छ । उपचार पद्दती दुई किसिमका हुन्छन् । मनोवैज्ञानिक उपचारमा काउन्सिलिङ, थेरापी गरिन्छ भने अर्को मनोचिकित्सकलाई भेटेर परामर्श अनुसार औषधिहरु सेवन गनुपर्ने हुन्छ । उपचारपछि ऊ पूर्ण रुपमा निको भएर पहिलेकै अवस्थामा फकर्न सक्छ ।

आत्महत्याकाे अवस्था डिप्रेशनको कुन अवस्था हो ? जटिल अवस्थामा पनि उपचार सम्भव छ ?

डिप्रेशन उपचारपछि पूर्ण रुपमा निको हुने रोग हो । दुई–तीन वर्ष लामो डिप्रेशन हो भने उपचार प्रक्रिया लम्बिन सक्छ अथवा ठिक नहुन पनि सक्छ, त्यो अवस्था हेरेर मात्रै भन्न सकिन्छ । समयमै उपचार गरेमा जस्तो खालको डिप्रेशन पनि पूर्ण रुपमा निको हुन्छ, पछि बल्झिने समस्या पनि रहँदैन । समयमै उपचार पाएन भने मानिस आफैँलाई हानि पुर्याउने अवस्थासम्म पुग्छ ।

कोही मानिस सामान्य तनावमा पनि आवेशमा आएर उसले सुसाइडको कदम उठाउने स्वभावकाे हुन्छ । त्यसैले कडा खालको डिप्रेशनमा मात्रै मानिसले सुसाइड गर्छ भन्ने हुँदैन, जुनसुकै अवस्थामा पनि सुसाइडका भावना आउन सक्छन् । कसैलाई भने डिप्रेशन कडा हुँदै जाँदा ‘मेरो केही पनि चाहना छैन, मलाई कसैले सहयोग गर्न सक्दैन । मेरो जीन्दगी सकियो । खतम भयो’ भन्ने किसिमका भावना आएर एकदमै होपलेश फिल गरेको अवस्थामा उसले सुसाइडको कदम उठाउन सक्छ ।

बालबालिकालाई पनि देखिन्छ डिप्रेशन ? कुन उमेर समूहलाई बढी जोखिम हुन्छ ?
डिप्रेशन महिला, पुरुष अथवा जुनसुकै उमेर समूहको व्यक्तिलाई पनि हुन सक्छ । यद्यपि, २०–२५ देखि लगभग ३५–४० वर्षको उमेर समूहलाई डिप्रेशनको अलि बढी जोखिम हुन्छ भनिएको छ ।

पछिल्लो समय भएका विभिन्न अध्ययनहरुले भने ४५ वर्षपछि अथवा उमेर ढल्किँदै गएकाहरूले सुसाइड गरेकाे, डिप्रेशन भएकाे तथ्यांकहरू सार्वजनिक गरेका छन् । बाल्यकाल, बुढेसकाल र युवा अवस्था यी तीनै समूहका व्यक्तिमा डिप्रेशन हुन्छ । यद्यपी लक्षणहरु भने फरक देखिन सक्छन् ।

डिप्रेशन भएका वृद्धवृद्धाहरुमा झिँझाे मान्ने, रिसाउने, निन्द्रा नपर्नेलगायतका लक्षणहरु बढी देखिन्छन् ।

बालबालिकालाई डिप्रेशन भएको कसरी थाहा पाउने ? हुन नदिन के गर्न सकिन्छ ?
बालबालिकालाई डिप्रेशन भएमा उनीहरु अभिभावकलाई बढी पिराउने गर्छन् । झर्को मान्ने, राम्रोसँग खानपिन नगर्ने, स्कुल जान मन नगर्ने हुन्छन् । डिप्रेशनको अवस्थामा बालबालिका कुलतमा फस्ने सम्भावना पनि रहन्छ ।

बालबालिकालाई डिप्रेशनबाट बचाउन स्वस्थ खालको पारिवारिक वातावरण निर्माण गर्नु जरुरी हुन्छ । घरमा बुवा–आमा सधैँ झगडा गरिरहने, रक्सी खाएर आउने, कुटपिट गर्ने किसिमको वातावरण भएमा त्यो घरका बालबालिकामा डिप्रेशनको सम्भावना बढी हुन्छ ।

पछिल्लो समय इन्टरनेटको प्रयोग पनि बढेको पाइन्छ । कोभिड १९ महामारीका कारण धेरैजसो विद्यालयहरुले अनलाइन क्लास राखेका छन् । जसले बालबालिकामा इन्टरनेटको लत बस्ने अनि चलाउन नपाउँदा डिप्रेशन हुने देखिएको छ ।

कतिपय बालबालिकालाई साथीहरुले टर्चर गर्ने, जिस्काउने, सामानहरु चोरिदिने, बदमासी गर्ने, दिक्क बनाउने गर्छन् । अनि शिक्षकहरुले गाली गर्ने, पिट्ने गर्छन् । यस्तो वातावरण हुँदा पनि बालबालिकामा डिप्रेशनको सम्भावना हुन सक्छ । त्यसकारण बालबालिकालाई डिप्रेशन हुन नदिन परिवार, समाज, विद्यालयको वातावरण स्वस्थ हुन जरूरी छ ।

डिप्रेशन भएका व्यक्तिलाई साथीभाइ, परिवारले कसरी सहयोग गर्न सक्छन् ?
परिवार, साथीभाइले उसकाे उदासीपन, निराशा, खानपिन, निन्द्राबारे नाेटिस गरेकाे छ भने त्यसबारे बुझेर उसलाई सचेत गराउनुपर्छ । तनावको कारण के हो भन्न लगाउने र समाधान गर्न सकिने खालका समस्याहरू छन् भने त्यसमा सहयोग गर्नुपर्छ । कसैलाई ऋणको समस्या हुन सक्छ, उसको तिर्ने अवस्था नहुँदा उसलाई जीवन बोझ लाग्ने, बर्बाद भएँ, सकिएँ भन्ने खालका भावना आउने, आत्महत्या गर्न मन लाग्ने हुन्छ ।

यसमा परिवार र साथीभाइले मानसिक अथवा आर्थिक रुपमा सहयोग गरेर उसकाे तनाव कम गराउन सक्छन् । यस्तै डिप्रेशनको अलि बढी लक्षणहरु देखिएका छन् भने तुरुन्त उपचारमा लैजानुपर्छ । जति छिटो उपचार सुरु गर्यो उति छिटो निको हुन्छ । ढिलाे उपचार सुरू गरेमा निकाे हुन लामाे समय लाग्न सक्छ ।

हाम्रो समाजमा कोही टोलाएर बसेको छ, एकोहोरिएको छ, शान्त छ भने सम्झाउने भन्दा पनि गाली गर्ने चलनचल्ती छ । अझैपनि डिप्रेशन भयो भनियो भने अथवा कोही डिप्रेशनको उपचार गरेर आएको छ भने यो त बिग्रेको रहेछ, पागल रहेछ भन्छन् । तर यसले पीडितकाे समस्या झनै बढाउन सक्छ । यद्यपी पछिल्लाे समय यस्ता सोचाइहरु कम हुँदै गएका छन् । युवाहरु आफैँ पनि काउन्सिलिङ तथा उपचारका लागि आइरहेका हुन्छन् ।

प्रतिक्रिया