भ्यालेन्टाइन डेमा गुलाबको माग ४० प्रतिशतले कमी, १ कराेडकाे काराेबार हुने

काठमाडौं । यो वर्ष भ्यालेन्टाइन डेको अवसरमा नेपालमा गुलाबको माग ४० प्रतिशतले घट्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका पुष्प व्यवसायीबाट हुने गरेको मागको आधारमा यो वर्ष गुलाबको माग घट्ने अनुमान गरिएको नेपाल फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ मकालु खबरसँग बताए ।

‘गत वर्ष २ लाख स्टिम गुलाब खपत भएकोमा यो वर्ष १ लाख २० हजार स्टिम मात्र गुलाबको माग हुने अनुमान हामीले गरेका छौं,’ उनले भने, ‘कोभिड–१९ महामारी र आन्तरिक उत्पादनमा समेत कमी आएकोले यो वर्ष गुलाबको माग कम हुने अनुमान हामीले गरेका छौं ।’

एशोसिएसनका अनुसार यो वर्षको कुल माग मध्ये ७२ हजार स्टिम गुलाब उपत्यकामा र बाँकी ४८ हजार स्टिम गुलाब उपत्यकाका बाहिरका विभिन्न शहरमा खपत हुने अनुमान छ । मागको झण्डै ६० प्रतिशत काठमाडौंमा २० प्रतिशत पोखरामा र बाँकी २० प्रतिशत देशका अन्य सबै सहरमा गरी गुलाबको खपत हुने गरेको छ ।

नेपालमा डच तथा कलकत्ते स्थानीय प्रजातिको गुलाब ज्यादा बिक्री हुने गरेका छन् । काठमाडौं उपत्यका लगायतका ठाउँमा हुने आन्तरिक उत्पादनले मागको २० प्रतिशत आपूर्ति धान्ने गरेको छ भने बाँकी ८० प्रतिशत गुलाब भारत तथा तेस्रो मुलुकबाट आउने गरेको छ । यस आधारमा ९६ हजार स्टिम गुलाब आयात हुने र बाँकी २४ हजार स्टिम आन्तरिक उत्पादनले धान्ने अनुमान छ । नेपालमा गुलाबको व्यवसायीक उत्पादन काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रेपलाञ्चोक र चितवनमा हुने गरेको छ ।

यो वर्ष गुलाबको गुणस्तर अनुसार प्रतिस्टिम ६० रुपैयाँदेखि १०० रुपैयाँसम्ममा कारोबार हुने र कुल १ करोड रुपैयाँको हाराहारीमा व्यापार हुने अनुमान छ । गत वर्ष प्रतिस्टिम ८० देखि १०० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

नेपालमा चाडपर्व बाहेक सामान्य दिनमा प्रतिदिन ८ हजार स्टिम गुलाबको माग हुने गरेको छ ।

यो वर्ष २०७७ फागुन २ गते शुक्रबारका दिन भ्यालेन्टाइन डे परेको छ । प्रेममा परेका कारण मृत्यु वरण गर्न बाध्य पारिएका सैनिक सेन्ट भ्यालेन्टाइनको सम्झनामा यो दिवस पश्चिमा देशहरुले मनाउने गरेका छन् । भ्यालेन्टाइन डेआउनु साताअघिबाटै विभिन्न यो दिवस मनाउने चलन बढ्दै गएपछि पछिल्लो समय नेपालमा समेत गुलाबको खपत प्रत्येक वर्ष बढ्दै आएको थियो ।

पछिल्लो समय यही दिनलाई नेपालमा भने प्रणय दिवस, प्रमे दिवस जस्ता नाम दिएर विशेष गरी युवायुवतीले मनाउने गरेका छन् । यो दिन आफ्ना मायालु जोडीलाई प्रेमको प्रतिक गुलाबका साथ उपहार दिने चलन छ ।

 

प्रतिक्रिया