सिटिजन्स बैंक र सिर्जना फाइनान्स मर्जर हुँदै

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेड र सिर्जना फाइनान्स गाभिने (मर्जर) भएकाे छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएकाे छ ।

आज (बुधबार) विराटनगरमा आयोजित एक कार्यक्रमका बिच बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सकाे तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी भइरहेको बैंकका प्रवक्ता उमंग शर्माले जानकारी दिए ।

उनका अनुसार माघ २७ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३४ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब ११ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८८ हुनेछ ।

हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २१ वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २८ वटा शाखाहरु हुनेछन् ।

प्रतिक्रिया